मिथिलाको झुला महोत्सव सुरुः मठमन्दिरमा गुञ्जन्छन् भजन–कीर्तन र झुला गीत

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मिथिला क्षेत्र साउन शुक्ल तृतीयासँगै भक्तिभाव र सांस्कृतिक रंगमा रंगिएको छ। आइतबार साँझदेखि सुरु भएको झुला महोत्सवले अहिले सम्पूर्ण मिथिला क्षेत्रमा उल्लास भरिदिएको छ। विष्णु र लक्ष्मीका प्रतीक मानिने राम–सीता र कृष्ण–राधालाई झुलामा भुलाउने (झुलाउने) परम्पराले यो पर्वको विशेषता दर्शाउँछ।

यो पर्व कुनै व्यक्तिगत घर–आँगनमा सीमित नरही, मठमन्दिरमा सामूहिक भजन, कीर्तन र पूजाआर्चनासहित मनाइने चलन छ। विष्णुलक्ष्मीका प्रतिमाहरूलाई विशेष ढंगले सजाइएको झुलामा राखी, श्रद्धालुहरू लोकधुनका साथ झुला, मलार, कजरी गीत गाउँदै झुलाउँछन्।

महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मन्दिरबाट डोलीमा राखिएको प्रतिमालाई बाजागाजासहित झुलाघर पु¥याइएपछि यो वर्षको महोत्सव औपचारिक रूपमा आरम्भ भएको हो। मटिहानीमा विशेष झुलाघर निर्माण गरिएको छ, जहाँ जिल्लाभरिका साथै सीमावर्ती भारतका थुप्रै मठमन्दिरका प्रतिमाहरू झुला भुलाउन ल्याइएका छन्।

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने यो पर्व जनकपुरको जानकी मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठमा विशेष महत्त्वका साथ मनाइन्छ। भक्तजनहरू बिहानदेखि रातिसम्म भजन–कीर्तनमा रमाउँदै झुला हल्लाउने कार्यमा सहभागी हुन्छन्।

मिथिला क्षेत्रका सांस्कृतिक चिन्तक ध्रुव रायका अनुसार, यो पर्व अयोध्याको अवध र वृन्दावनबाट मिथिलामा भित्रिएको मानिन्छ। सन्त सुरकिशोर दासले विसं १७८७ तिर मटिहानीमा यो पर्वको आरम्भ गराएको जनश्रुति छ। जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँ रामलाई प्रसन्न गर्न मैथिल परम्परामा विशेष पर्वको रूपमा झुला महोत्सवलाई मान्यता दिइएको हो।

जनकपुरको मणिपर्वत क्षेत्रलाई समेत झुला पर्वसँग जोडिएको मानिन्छ। जनकले रामसीताको विवाहमा दाइजोस्वरूप दिएको हिरा–रत्नहरूले थुप्रो बनेको मानिने यो स्थानमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेर पर्वको आरम्भ गर्ने चलन रहिआएको छ।

पर्वको समापन साउन पूर्णिमाका दिन झुलामा बाँधिएको डोरी विधिपूर्वक चुडालेर गरिन्छ। झुला पर्व केवल धार्मिक आस्थाको विषय होइन, यो मिथिलाको समृद्ध सांस्कृतिक सम्पदा र सामाजिक एकताको प्रतीक हो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...