आज्ञा खबर
जनकपुरधाम
पूर्वाधार विकास कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्लाको भौतिक पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा ५७ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने २२ वटा कल्भर्ट निर्माण सम्पन्न भएका छन्।
कार्यालय प्रमुख सञ्जीवकुमार साहका अनुसार सोही अवधिमा २२.५ किलोमिटर सडकमा ग्राभेल बिछ्याउने, एक किलोमिटर सडक ढलान (पक्की) गर्ने तथा सात किलोमिटर सडकको मर्मत–सम्भार गर्ने कार्य पनि सम्पन्न भएको छ।
सार्वजनिक पूर्वाधार विस्तारअन्तर्गत जनकपुरधाममा बीपी स्मृति सभाहल र सबैलामा योगनारायण स्मृति सभाहल निर्माण सम्पन्न भएको उनले जानकारी दिए। साथै जिल्लाका विभिन्न स्थानमा २२ वटा सामुदायिक भवन र दुई वटा सभाहल निर्माणको काम पनि सकिएको कार्यालयले जनाएको छ।
मधेश प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका धनुषाका ३२ वटा बहुवर्षीय योजनामध्ये अधिकांश अन्तिम चरणमा पुगेका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटर सडक निर्माण तथा कालोपत्रे गर्ने योजना पनि अन्तिम चरणमा पुगेको प्रमुख साहले बताए।
बहुवर्षीय योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१ स्थित जलाद नदीमा पुल निर्माण तथा भिमान–महनगाछी–किसनपुर सडक कालोपत्रेको काम सम्पन्न भइसकेको उनले जानकारी दिए।
आवास निर्माणतर्फ जनता आवास कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा निर्माण गर्न लागिएका ७९६ आवासमध्ये ६३८ वटा घर निर्माण सम्पन्न भएका छन्। बाँकी आवाससम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्माण कार्य रोकिएको कार्यालयको भनाइ छ।
यस्तै, महेन्द्र नारायण निधि विपन्न आवास योजनाअन्तर्गत धनुषामा निर्माणाधीन १०५ आवासमध्ये ७१ वटा सम्पन्न भएका छन् भने ३४ वटा निर्माणको चरणमा छन्। मदन भण्डारी विपन्न आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका ५५ घरमध्ये २९ वटा सम्पन्न भइसकेका छन् भने बाँकी घर निर्माणाधीन रहेको कार्यालय प्रमुख साहले जानकारी दिए।
