औरहीमा प्रशासनको पहलमा एकल महिलाले पाइन् सहकारीमा डुबेको आठ लाख

सुभद्रा भुजेल

महोत्तरी

महोत्तरीको मनराशिस्वा नगरपालिका निवासी एकल महिला इन्दुकुमारी देवीले सहकारी संस्थामा फसेको रकममध्ये आठ लाख रुपैयाँ फिर्ता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीको पहलमा लामो समयदेखि रोकिएको रकम फिर्ता भएपछि उनलाई आर्थिक राहत मिलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानको तीन वर्षअघि दुर्घटनामा मृत्यु भएपछि प्राप्त १२ लाख रुपैयाँ क्षतिपूर्ति उनले २०८० असार २४ गते औरहीस्थित सोनामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेकी थिइन् । सहकारीले वार्षिक २४ प्रतिशत ब्याज दिने आश्वासन दिएपछि उनले उक्त रकम त्यहाँ राखेकी थिइन् ।

सुरुका केही महिना ब्याज पाए पनि पछि सहकारी संस्था बन्द भएपछि उनी सावाँ रकमसमेत फिर्ता पाउन नसक्ने अवस्थामा पुगेकी थिइन् । तीन जना नाबालिका छोरीको पालनपोषण र भविष्यको जिम्मेवारी सम्हालिरहेकी इन्दुकुमारीका लागि श्रीमान्को मृत्युपछि प्राप्त क्षतिपूर्तिको रकम नै मुख्य आर्थिक आधार थियो ।

सहकारीमा रकम फसेपछि अन्योलमा परेकी उनले न्यायका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन् । पीडितको निवेदनपछि प्रशासनले सहकारी सञ्चालक पक्षसँग पटक–पटक छलफल र संवाद गर्दै रकम फिर्ता गराउन पहल गरेको थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रशासनको पहलपछि सहकारी सञ्चालक पक्षले पहिलो चरणमा आठ लाख रुपैयाँ फिर्ता गरेको छ । बाँकी चार लाख रुपैयाँ र ब्याजसमेत मंसिर ४ गतेसम्म फिर्ता गर्ने सहमति भएको उनले जानकारी दिए ।

आर्थिक रूपमा कमजोर अवस्थामा रहेकी इन्दुकुमारीले लामो समयपछि रकमको केही हिस्सा फिर्ता पाएपछि राहत महसुस गरेकी छन् । उनले रकम फिर्ता गराउन सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेकी छन् ।

प्रमुख जिल्ला अधिकारी यादवले पीडितलाई न्याय दिलाउन र समस्याको समाधान गर्न प्रशासनले आफ्नो जिम्मेवारीअनुसार पहल गरेको बताए । सहकारीमा रकम फसेका नागरिकको समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय र संवाद आवश्यक रहेको उनको भनाइ छ ।

सहकारीमा बचत गरेको रकम फिर्ता नपाउँदा समस्यामा परेका नागरिकका लागि इन्दुकुमारीको घटनाले बचतको सुरक्षा, सहकारीको जवाफदेहिता र पीडितको गुनासो सम्बोधनमा सम्बन्धित निकायको सक्रियता कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...