माधव पौडेल
बर्दिबास, महोत्तरी
समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति आपत्ति जनाउँदै महोत्तरीको बर्दिबासका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। पत्रकारिता पेसामाथि हस्तक्षेप गर्ने तथा प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने गतिविधि भएको भन्दै पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन्।
बर्दिबास नगर पत्रकार सञ्जालको आयोजनामा आज बिहान बर्दिबास चोकमा मौन धारणसहित विरोध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले समाचार लेखेकै कारण पत्रकारलाई पक्राउ गर्ने, दुःख दिने तथा पत्रकारितालाई त्रसित बनाउने प्रवृत्तिको विरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोको आतिथ्यता तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विशाल बस्नेतको अगुवाइमा भएको कार्यक्रममा बर्दिबासस्थित नगर पत्रकार सञ्जालका सदस्य पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले राज्यको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने प्रयास भइरहेको बताए।
उनले सरकारले यसअघि पत्रकारिता क्षेत्रको आर्थिक आधारका रूपमा रहेको विज्ञापनमा रोक लगाएर सञ्चारमाध्यमलाई कमजोर बनाउने काम गरेको आरोप लगाउँदै अहिले कार्यालय नै बन्द गराउनुपर्ने अवस्थासम्म सिर्जना हुन थालेको टिप्पणी गरे।
‘सरकारले यसअघि आर्थिक उपार्जनको आधारका रूपमा रहेको विज्ञापन बन्द गराएर सञ्चारमाध्यमलाई कमजोर बनाउने काम गर्यो। अहिले अवस्था कार्यालय नै बन्द गराउने तहसम्म पुगेको छ। यस्ता गतिविधिको हामी घोर विरोध गर्छौं,’ उनले भने।
महतोले पत्रकारको हातमा रहेको कलम र सुरक्षाकर्मीको हातमा रहेको बन्दुकलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने उल्लेख गर्दै राज्यले पत्रकारिताको महत्व बुझ्नुपर्ने धारणा राखे। पत्रकारको कलमलाई दबाउने होइन, त्यसको सम्मान र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।
उनले समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकड गर्ने कार्यले लोकतान्त्रिक व्यवस्था, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि प्रश्न उठाउने बताए। पत्रकारले समाजमा भएका विकृति, विसङ्गति र अनियमिततालाई सार्वजनिक गर्ने जिम्मेवारी निर्वाह गर्ने भएकाले उनीहरूलाई निर्भीक रूपमा काम गर्ने वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
विरोध कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारिता कुनै व्यक्ति वा संस्थाको पक्षविपक्षमा उभिने माध्यम मात्र नभई नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण क्षेत्र भएको बताएका थिए। समाचारप्रति चित्त नबुझे कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान खोज्न सकिने भए पनि समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड गर्नु स्वीकार्य नहुने उनीहरूको धारणा थियो।
पत्रकारहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारलाई निर्भीक र सुरक्षित रूपमा समाचार संकलन तथा प्रकाशन गर्ने वातावरण बनाउन सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।
बर्दिबासमा आयोजित मौन धारण तथा विरोध कार्यक्रममार्फत पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र समाचार लेखेकै आधारमा हुने धरपकडको अन्त्यका लागि एकजुट भएर आवाज उठाएका छन्।
पत्रकारितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध आफ्नो आवाज बुलन्द बनाउने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरेका छन्।





































