सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्न उद्योगलाई कडा निर्देशन, संयुक्त संरक्षण कोष बनाइने

आज्ञा खबर

वीरगञ्ज

छठ पर्वका व्रतालु तथा श्रद्धालुलाई स्वच्छ र सुरक्षित वातावरणमा पूजा गर्न सहज बनाउने उद्देश्यले सिर्सिया नदीमा औद्योगिक फोहोर तथा रसायनयुक्त पानी विसर्जनमा कडाइ गर्ने निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले बारा र पर्साका औद्योगिक करिडोर हुँदै बग्ने सिर्सिया नदीको प्रदूषण नियन्त्रण तथा दीर्घकालीन संरक्षणका लागि विभिन्न निर्णय गरेको हो।

बैठकले उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साथै, औद्योगिक करिडोरमा रहेका सबै उद्योगलाई आफ्ना बहिर्गमन प्रशोधन केन्द्र २४ सै घण्टा सञ्चालन गरी प्रशोधित पानी मात्र बाहिर निकाल्न निर्देशन दिइएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा बसेको बैठकले व्यक्तिगत रूपमा प्रशोधन केन्द्र सञ्चालन गर्न नसक्ने साना तथा मझौला उद्योगका लागि साझा प्रशोधन केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ। उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा निर्माण गरिने उक्त केन्द्रका लागि उपयुक्त जग्गा पहिचान गरी सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिने जनाइएको छ।

बैठकमा सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि विगतमा भएका निर्णय तथा कार्यप्रगतिको समीक्षा गर्दै नदीलाई दीर्घकालीन रूपमा स्वच्छ र जीवन्त बनाउने विषयमा छलफल गरिएको थियो।

नदीमा सहरको ढल मिसिने समस्या समाधान गर्न वीरगञ्ज महानगरपालिका तथा आसपासका पालिकाबाट निस्कने मुख्य ढललाई नदीमा मिसिन नदिने गरी तत्काल वैकल्पिक नाला निर्माण तथा ढल डाइभर्सन गर्ने प्रक्रिया अघि बढाइने निर्णय पनि गरिएको छ।

त्यसैगरी, सिर्सिया नदीको संरक्षण तथा पुनरुत्थानका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया अघि बढाइने भएको छ। यसका लागि सङ्घीय तथा प्रदेश सरकारबाट आवश्यक प्राविधिक सहयोग लिने निर्णयसमेत गरिएको छ।

उद्योगबाट निस्कने रसायनयुक्त पानीको उचित प्रशोधन, ढल व्यवस्थापन र सरकारी निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउन सकिए सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा दीर्घकालीन सुधार ल्याउन सकिने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...