धनुषा जिल्ला अदालतमा एक वर्षमा ५ हजार २१६ मुद्दा फर्छ्यौट, ५ हजार ५९ अझै विचाराधीन

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ। अदालतका अनुसार स्वचालित पेसी प्रणाली लागू भएपछि मुद्दा व्यवस्थापन, सुनुवाइ प्रक्रिया र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ।

अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए। यसअघि आर्थिक वर्ष २०८१/८२ बाट चार हजार २३१ मुद्दा जिम्मेवारी सरेर आएकाले वर्षभरिमा अदालतमा कुल १० हजार ७५ मुद्दा विचाराधीन रहेका थिए। तीमध्ये पाँच हजार २१६ मुद्दाको टुंगो लगाइएको हो।

हालसम्म पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने अदालतले पाँच हजार ७०१ मुद्दा फर्छ्यौट गरेको थियो। सो अवधिमा पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए भने चार हजार १७९ मुद्दा अघिल्लो वर्षबाट सरेर आएका थिए। यसरी कुल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दाको फैसला वा फर्छ्यौट भएको अदालतको तथ्यांकमा उल्लेख छ।

अदालतका अनुसार स्वचालित पेसी प्रणाली लागू भएसँगै पेसी व्यवस्थापन थप व्यवस्थित बनेको, सुनुवाइ प्रक्रियामा पारदर्शिता बढेको तथा सेवाग्राहीले छिटो न्यायिक सेवा पाउन थालेका छन्।

आगामी दिनमा पनि न्याय सम्पादनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउँदै लैजाने लक्ष्यका साथ अदालत प्रशासनले सेवा सुधारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...