आज्ञा खबर
जनकपुरधाम
यातायात व्यवस्था कार्यालय, जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार नयाँ सवारी दर्ता, सवारी नवीकरण तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलगायतका सेवाबाट उक्त राजस्व संकलन भएको हो।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार चालु आर्थिक वर्षमा संकलित राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ रुपैयाँले कम हो। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले विभिन्न शीर्षकबाट ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व संकलन गरेको थियो।
राजस्व संकलनमा कमी आउनुको प्रमुख कारण गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागको सफ्टवेयर निर्माण तथा अद्यावधिक कार्यमा भएको ढिलाइ रहेको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा कार्यालयमा कुल २१ हजार २९४ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्। तीमध्ये १६ हजार ९५७ वटा मोटरसाइकल, १८७ वटा बस तथा ट्रक, एक हजार ९०२ वटा टेम्पो तथा विद्युतीय रिक्सा, एक हजार २२ वटा ट्र्याक्टर र २२६ वटा जिप तथा कार रहेका छन्।
त्यसैगरी, सोही अवधिमा नयाँ तथा वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।
