सुभद्रा भुजेल
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित गढन्ता खोलामा आएको आकस्मिक बाढीमा बगेर एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार बिहान खेतमा पानी लगाउन राखिएको मोटर निकाल्न गढन्ता खोलातर्फ गएका बर्दिबास–५ निवासी इन्द्रबहादुर बस्नेतका छोरा, गाउँघरमा “हकवाला बस्नेत” भनेर चिनिने अन्दाजी ६०–६२ वर्षीय टंकबहादुर बस्नेत बाढीमा बगेका थिए।
प्रहरीका अनुसार उनी साउन २० गते बिहान करिब ३ बजे मोटर निकाल्न खोलातर्फ गएको बेला अचानक खोलामा आएको बाढीले बगाएको थियो। त्यसपछि उनकी श्रीमती तथा आफन्तहरूले खोजी गर्ने क्रममा बिहान करिब ८ बजे घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा उनको शव फेला पारेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट माइस्थानबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
