अज्ञा खबर
बर्दिवास, महोत्तरी ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ९० दिने नि:शुल्क लोकसेवा तयारी कक्षा शनिवार एक समारोहबीच सम्पन्न भएको छ। बर्दिवास–१ स्थित नमोबुद्ध इन्स्टिच्युटको आयोजनामा सम्पन्न उक्त तयारी कक्षामा ४८ जना विद्यार्थी सहभागी भएका थिए।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएका बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले कार्यक्रममा सम्बोधन गर्दै बर्दिवास नगरपालिका भित्रका विद्यार्थीहरूलाई आगामी लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यो तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए। “हामीले नगर क्षेत्रका युवाहरूलाई सरकारी सेवामा प्रवेशको अवसर दिलाउन यस्ता तयारी कक्षाहरू सञ्चालनमा ल्याएका हौं,” उनले भने, “मेहनत, निरन्तरता र अनुशासनले मात्र सफलता सम्भव हुन्छ।”
कार्यक्रममा बोल्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत राममणि अधिकारीले विद्यार्थीहरूलाई कठिन परिश्रम, लगनशीलता र आत्मअनुशासन अपनाएर अध्ययन गरेमा लोकसेवा परीक्षा पास गर्नु असम्भव नरहेको उल्लेख गरे। उनले भने, “प्रतिस्पर्धा कठिन छ तर असम्भव होइन। तपाईंहरूको लगनशीलता नै सफलताको आधार बन्नेछ।”
९० दिने तयारी कक्षा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सुनिलशर्मा पौडेल र संघीय भवन मधेश प्रदेश कार्यालयका लेखा अधिकृत रुद्र सुस्लिङ्गको सहजीकरणमा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूद्वारा कक्षाबाट प्राप्त ज्ञान, आत्मविश्वास र प्रेरणाका अनुभवहरू पनि प्रस्तुत गरिएको थियो। उनीहरूले यस्तो तालिमले आफूहरूलाई भविष्यको तयारीमा थप सहज बनाएको प्रतिक्रिया दिएका थिए।
नमोबुद्ध इन्स्टिच्युट बर्दिवास–१ महोत्तरीले आयोजना गरेको यो तालिमले नगर क्षेत्रमा युवा लक्षित तालिमको आवश्यकतालाई झल्काएको आयोजक संस्थाले जनाएको छ।
