आज्ञा खबर
जनकपुरधाम
जनकपुरधामस्थित मत्स्य मानव स्रोत विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ३८ लाख ह्याचलिङ (माछाका भुरा) उत्पादन गरेको जनाएको छ।
केन्द्र प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार समीक्षा अवधिमा ४ करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा २ हजार ५३ किलोग्राम माछा उत्पादन गरी बिक्री वितरण गरिएको हो। माछाका भुरा बिक्रीबाट केन्द्रले ३४ लाख ३५ हजार ५३६ रुपैयाँ आम्दानी गरेको जनाएको छ।
त्यसैगरी, सरकारी सम्पत्ति भाडाबाट ३ लाख २४ हजार ३०० रुपैयाँ तथा विभिन्न प्रशासनिक सेवाबाट ५९ हजार रुपैयाँ राजस्व संकलन भएको केन्द्रले जनाएको छ।
केन्द्रमा उत्पादन भएका माछाका भुरा मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका किसानले खरिद गर्ने गरेका छन्। साथै बागमती प्रदेशका काठमाडौं, सिन्धुली, रामेछाप, दोलखा तथा कोशी प्रदेशको सुनसरी जिल्लासम्म पनि यहाँ उत्पादित भुरा आपूर्ति हुँदै आएको छ।
केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्प जातका माछाका भुरा उत्पादन गर्दै आएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले ४ करोड ७५ लाख ५ हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा २ हजार किलोग्राम माछा उत्पादन गरेको थियो।
निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको केन्द्र २०१८ सालमा स्थापना भएको हो। केन्द्र परिसरमा रहेका ७८ वटा पोखरीमध्ये हाल १९ वटा पोखरी प्रयोगविहीन अवस्थामा रहेका छन्।
