आज्ञा खबर
काठमाडौं
प्रतिनिधिसभामा धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको विषयले शुक्रबार चर्चा पाएको छ। उक्त परियोजना अन्यत्र सार्ने प्रयास भइरहेको भन्ने विषय उठेपछि सभामुख डोलप्रसाद अर्यालले सरकारसँग तत्काल धारणा सार्वजनिक गर्न निर्देशन दिएका छन्।
बैठकका क्रममा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा स्थापना गर्ने निर्णय भएको ट्रमा सेन्टरलाई अन्य स्थानमा लैजान खोजिएको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनले विशेषगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै यस विषयमा स्पष्ट जवाफ माग गरेका थिए।
सांसद यादवले उठाएको विषयलाई गम्भीर रूपमा लिँदै सभामुख अर्यालले सम्बन्धित मन्त्रालयमार्फत आजै सदनमा स्पष्ट जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्।
ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको स्थान परिवर्तनबारे उठेको विवादका कारण प्रतिनिधिसभामा सरकारको धारणा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
