आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका विभिन्न जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीका घटना पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेका छन्। नेपाल विद्युत् प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा प्रदेशभरबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन्।
कार्यालयका प्रशासन प्रमुख कालिचरण यादवले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाका तारको मूल्य बढेसँगै चोरीका घटना पनि वृद्धि भएको जानकारी दिएका छन्। चोरी भएका अधिकांश ट्रान्सफर्मर १५ केभीएदेखि २०० केभीएसम्म क्षमताका रहेका छन्।
तथ्याङ्कअनुसार सबैभन्दा धेरै महोत्तरीमा ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन्। त्यसपछि बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा समान ९/९, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्।
ट्रान्सफर्मर चोरीका कारण विशेषगरी कृषि क्षेत्रमा प्रत्यक्ष असर परेको छ। सिँचाइका लागि आवश्यक विद्युत् आपूर्ति अवरुद्ध हुँदा किसानले समयमा खेतमा पानी लगाउन नसकेको गुनासो गरेका छन्। प्रभावित किसानहरूले चोरीमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गरेर विद्युत् सेवा नियमित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यता, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रिय रूपमा परिचालन गरिएको बताएका छन्।
