आज्ञा खबर
काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार यस वर्षको मौका परीक्षामा ७१ हजार ३१० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै परीक्षा उत्तीर्ण गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।
बोर्डले तीन जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको जनाएको छ। प्राविधिक कारणवश नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयमा रहेको मूल अभिलेखका आधारमा आवश्यक संशोधन गरिने पनि बोर्डले स्पष्ट पारेको छ।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत हेर्न सक्नेछन्।
राष्ट्रिय परीक्षा बोर्डले साउन २ र ३ गते देशभर कक्षा १२ को मौका परीक्षा सञ्चालन गरेको थियो।
