काठमाण्डौँ-
चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिवार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।
समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डि. शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो। त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए ।
२०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए । २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो ।
त्यस्तै, २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्दव रसाइली र सोही सालको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा राजेश हमाललगायत फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
