रौतहटमा फरार कैदीसहित चार जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट

रौतहट प्रहरीले विभिन्न आपराधिक मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कारागार र प्रहरी हिरासतबाट भागेका दुई जना समेत छन्।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार, गत भदौ २४ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतबाट भागेका लागुऔषध मुद्दाका थुनुवा पनिलाल दासलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। चन्द्रपुर–६ ठोकर टोल निवासी दास जेन–जी आन्दोलनपछि उत्पन्न अशान्त परिस्थितिको मौका छोपी फरार भएका थिए।

त्यस्तै, गौर कारागारबाट भागेका चन्द्रपुर–१ निवासी २८ वर्षीय उमेश राना मगर पनि पक्राउ परेका छन्। उनीमाथि लागुऔषध मुद्दामा कैद सजाय तोकिएको थियो।

प्रहरीले जग्गा किर्तेसम्बन्धी मुद्दामा कटहरिया–१ का रामपुकार महतो कोइरीलाई समेत नियन्त्रणमा लिएको छ। उनले अदालतको फैसला र सरकारी कागजात किर्ते गरी अरूको जग्गा आफ्नो नाममा दाखिला गरेको आरोप लागेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा गौर–८ का सुरेन्द्र साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। श्रीधन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एजेन्टका रूपमा कार्यरत साहले गाउँका सर्वसाधारणलाई आकर्षक नाफाको प्रलोभन देखाई १ वर्षे र ७८ महिने खाता खोल्न लगाउँदै रकम जम्मा गराएका थिए। पछि सो सहकारी बन्द भई सञ्चालकहरू फरार भएपछि साह पनि लुकिरहेका थिए। हाल उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कँडेलले बताए।

प्रहरीका अनुसार, सबै पक्राउ परेकामाथि सम्बन्धित मुद्दाअनुसार कानुनी कारबाही अघि बढाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...