आज्ञा खबर
महोत्तरी
महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा बुधबार अपराह्न मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिका शिवानी यादवको मृत्यु भएपछि स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए।
स्थानीय सन्ध्या यादवसँग साइकलमा सवार बालिकालाई कालो ज्याकेट लगाएका व्यक्ति सवार मोटरसाइकलले ठक्कर दिएको थियो। गंभीर घाइते भएकी शिवानीलाई उपचारका लागि जानकी एकेडमिक हस्पिटलमा ल्याइएको थियो, तर उपचारको क्रममा बुधबार राति नै उनको मृत्यु भएको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन्।
ठक्कर दिने मोटरसाइकल र चालक हाल फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ।
मृतक बालिकाको परिवार र स्थानीयवासीले दोषीको खोजी र कारबाहीको माग गर्दै बिहीबार बिहान ११ बजेदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए।
इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार, औरही नगरपालिकाका पूर्व नगर प्रमुख सुनिल कुमार यादव र स्थानीयबीच भएको वार्तापछि एक महिनाभित्र दोषी पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउने र सडक क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने सहमति भएपछि स्थानीयले सडक अवरुद्ध खोल्ने निर्णय गरेका छन्।
प्रहरीले मृत बालिकाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको जनाएको छ।
