विवाह पञ्चमी महोत्सवको तयारी तिव्रबनाउन जनकपुरधाममा सर्वदलीय बैठक

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मिथिलाको ऐतिहासिक एवं सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सव नजिकिँदै गर्दा जनकपुरधाममा यसको तयारी तीव्र गतिमा अघि बढाइएको छ। बिहीबार जानकी मन्दिर परिसरमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस वर्षको महोत्सवलाई अझ भव्य र व्यवस्थित रूपमा मनाउने निर्णय गरेको छ।

बैठकमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सातादिनसम्म चल्ने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै अयोध्याबाट आउने जन्तीको स्वागत, सत्कार र आवास व्यवस्थाको तयारी लगभग पूरा भएको जानकारी दिए। उनका अनुसार, मंसिर ४ गते नगर दर्शन, ५ गते फूलबारी लिला, ६ गते धनुष यज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, र ९ गते स्वयम्वर तथा विवाह समारोह आयोजना हुनेछ। मंसिर १० गते रामकलेवा विधि सम्पन्न गरी जन्ती टोलीलाई बिदा गरिने कार्यक्रम तय गरिएको छ।

महन्त दासका अनुसार, तयारीलाई सहज र प्रभावकारी बनाउन यस वर्ष पनि विभिन्न उप–समितिहरू गठन गरिएको छ। उनले भने, “हामीले सबै पक्षको सहकार्यमा यसपटकको महोत्सवलाई अझ सुव्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएका छौं।”

बैठकमा बडे महन्त राम तपेश्वर दास वैष्णवले देशमा भइरहेको राजनीतिक अस्थिरता र आन्दोलनका सन्दर्भमा सबैलाई संयमित रहन आग्रह गर्दै भने, “जनकपुरधाम शान्ति र भक्तिको भूमि हो। समस्या वार्ता र सहमतिका माध्यमबाट समाधान गर्नुपर्छ, हिंसाले केही उपलब्धि दिँदैन।”

नेपाल–भारत दुवै देशका भक्तजनका लागि आकर्षणको केन्द्र मानिने विवाह पञ्चमी महोत्सवमा प्रत्येक वर्ष लाखौं श्रद्धालु सहभागी हुने गर्छन्। जनकपुरधाममा यस अवसरमा धार्मिक झाँकी, सांस्कृतिक प्रस्तुति र मिथिलाली परम्पराका विविध झल्को देख्न पाइने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...