आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमारा निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा स्थानीय नेता शिबनारायण यादवको गएराति निधन भएको छ। लामो समयदेखि पक्षघात रोगबाट पीडित यादवको आफ्नै निजी निवासमा निधन भएको वडा अध्यक्ष प्रमोदकुमार मोक्तानले जानकारी दिएका छन्।
यादवको अन्त्येष्टि आज खयरमारा स्थित मरहा खोलामा सम्पन्न गरिएको छ। अन्त्येष्टिका क्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्वर्गीय यादवको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
अन्त्येष्टि कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रवक्ता विजय कुमार महतो, वडा अध्यक्ष प्रमोदकुमार मोक्तान, नेपाली कांग्रेसका नेता पोषण थापा लगायत विभिन्न स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

खयरमारा क्षेत्रका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय योगदान पु¥याएका यादवको निधनले स्थानीय समाज र कांग्रेस पार्टीलाई ठूलो क्षति पुगेको बताइएको छ। पारिवारिक स्रोतका अनुसार स्वर्गीय यादवका तीन छोरा, चार छोरी तथा एक श्रीमती छन्।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
