आञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्र सञ्चालित एकमात्र सामुदायिक उच्च शिक्षालय बर्दिवास जनता बहुमुखी क्याम्पसले डिजिटल शिक्षातर्फ महत्वपूर्ण फड्को मारेको छ। बर्दिवास नगरपालिकाले मंगलबार क्याम्पसलाई ६ वटा ल्यापटप र ४ वटा स्मार्ट (डिजिटल) बोर्ड सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा करिब ६ लाख रुपैयाँ मूल्य बराबरका डिजिटल बोर्ड तथा ल्यापटप क्याम्पसलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ। यस सहयोगले क्याम्पसको शैक्षिक वातावरण प्रविधिमैत्री बन्ने विश्वास लिइएको छ।
डिजिटल शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि नगरपालिकाको प्राथमिकतामा रहेको बताए। “सामुदायिक क्याम्पसलाई सक्षम बनाउनु भनेको स्थानीय युवाको भविष्य सुरक्षित गर्नु हो,” नगरप्रमुख क्षेत्रीले भने, “डिजिटल प्रविधिसँग जोडिएको शिक्षाले विद्यार्थीलाई समयसापेक्ष ज्ञान दिन मद्दत गर्छ।”

कार्यक्रमकै क्रममा नगरप्रमुख क्षेत्रीले एकै पटक ४० जना विद्यार्थी सहभागी हुन सक्ने कम्प्युटर ल्याब कक्षाको समेत अवलोकन गरेका थिए। क्याम्पसमा डिजिटल पूर्वाधार विस्तार हुँदै गएको देख्दा आफू सन्तुष्ट रहेको उनको भनाइ थियो।
कार्यक्रममा मन्तव्य राख्दै बर्दिवास नगरपालिकाका नगर प्रवक्ता विजय कुमार महतोले क्याम्पसको शैक्षिक विकासका लागि नगरपालिका तथा वडा नं. १४ बाट निरन्तर सहयोग हुँदै आएको बताए। “समयको माग अनुसार क्याम्पसलाई सक्षम बनाउन हामीले अहिलेसम्म पनि सहयोग गरेका छौं, आगामी दिनमा पनि यो क्रम जारी रहनेछ,” उनले स्पष्ट पारे।
२०६४ सालमा स्थापना भई सञ्चालनमा आएको बर्दिवास जनता बहुमुखी क्याम्पसले लामो समयसम्म अपेक्षित भएर सरकारी पहुँच र उल्लेखनिय सहयोग नपाएको गुनासो रहँदै आएको थियो। क्याम्पस सञ्चालक समितिका सदस्य लिलामणि आचार्यका अनुसार स्थानीय सरकारको दोस्रो कार्यकाल, विशेषगरी नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको कार्यकालमा मात्र क्याम्पसले आवश्यक र संस्थागत सहयोग पाउन थालेको हो।
बर्दिवास जनता बहुमुखी क्याम्पसका अध्यक्ष भरत बहादुर हमालको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख चेत बहादुर खड्का (सिताराम), विद्यालय व्यवस्थापन समितिका सदस्य, समाजसेवी, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय स्तरमै उच्च शिक्षा प्रदान गर्दै आएको जनता बहुमुखी क्याम्पसमा डिजिटल प्रविधिको प्रवेशसँगै अध्ययन–अध्यापनको गुणस्तर अझ सुदृढ हुने अपेक्षा गरिएको छ। नगरपालिका र क्याम्पसबीचको सहकार्यले बर्दिवास क्षेत्रमा शैक्षिक रूपान्तरणको नयाँ सम्भावना खोलिएको स्थानीयवासीहरूको विश्वास छ।
