आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित पुरानो हाट बजारमा रहेको पोखरीको बीच भागमा कामेश्वर महादेवको मूर्ति स्थापना कार्य शनिबारदेखि सुरु गरिएको छ।
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, समाजसेवी मञ्जु क्षेत्री तथा बर्दिवास नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर १४ का अध्यक्ष विजय कुमार महतोले संयुक्त रूपमा मूर्ति निर्माणका लागि शनिबार शिलान्यास गरेपछि औपचारिक रूपमा निर्माण कार्यको शुभारम्भ गरिएको हो।
निर्माण गरिने कामेश्वर महादेवको मूर्ति करिब ३१ फिट उचाइको विशाल स्वरूपको हुने बताइएको छ। उक्त मूर्ति निर्माणका लागि बर्दिवास नगरपालिकाको बजेटबाट करिब ३५ लाख रुपैयाँ खर्च गरिने भएको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रवक्ता तथा वडा अध्यक्ष विजय कुमार महतोले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको यस परियोजनाले स्थानीय पहिचान मजबुत बनाउने विश्वास व्यक्त ग रे। उ नले मूर्ति निर्माण सम्पन्न भएपछि पुरानो हाट बजार क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुने बताए।।
शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले पोखरीको सौन्दर्यकरणसँगै धार्मिक मूर्ति स्थापना कार्यले यस क्षेत्रको संरक्षण र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन्।





































