जोखिमपूर्ण छानामुनिको एक्लो जीवन, वडाको सहाराले जगाएको आशा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१० मा बसोबास गर्दै आएकी ५६ वर्षीया लाटिमाया सार्कीको जीवन संघर्षले भरिएको छ। शारीरिक रूपमा बोल्न नसक्ने, बहिरा र सुस्त मनस्थिती भएकी सार्की विगत लामो समयदेखि अत्यन्तै जीर्ण र जोखिमयुक्त घरमा बस्न बाध्य थिइन्।
श्रीमान् र छोराको देहान्तपछि एक्लै जीवनयापन गर्दै आएकी सार्कीको परिवारमा सहाराको नाममा कोही छैन। आर्थिक रुपमा अत्यन्तै विपन्न अवस्थाकी उनी आय–आर्जन गर्न असमर्थ छिन्। आर्थिक रुपमा अति बिपन्न भएकै कारण पैसाको अभाबमा घर मर्मत गर्न नसकेकी सार्कीलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता नै जीवनयापनको एकमात्र आधार बनेको छ।

यस्तै कठिन परिस्थितिमा जिवन यापन गरी रहेकी सार्कीका लागि बर्दिवास नगरपालिका वडा नम्बर–१० ले सहानुभूतिपूर्ण कदम चालेको छ। शनिबार आयोजित एक कार्यक्रममा वडा नम्बर–१० का अध्यक्ष प्रमोद कुमार मोक्तानले लाटिमाया सार्कीको घर मर्मतका लागि वडा कार्यालयको विपद् व्यवस्थापन कोषबाट १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन्।
अध्यक्ष मोक्तानले उक्त रकम बैंक खातामार्फत भुक्तानी गरिने जानकारी दिँदै विपन्न, असहाय र जोखिममा परेका नागरिकको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। “वडाभित्र रहेका अति विपन्न तथा असहाय नागरिकलाई सम्भव भएसम्म सहयोग गर्ने हाम्रो प्रतिबद्धता हो,” उनले भने।

वडाबाट प्राप्त हुने यस आर्थिक सहयोगले जीर्ण घर मर्मतमा केही भए पनि राहत मिल्ने अपेक्षा गरिएको छ। स्थानीय तहको सानो पहलले पनि लाटिमाया सार्की जस्ता एक्ला र असहाय नागरिकको जीवनमा आशाको किरण थप्ने विश्वास गरिएको छ।
स्थानीयबासीहरूले पनि वडा कार्यालयको यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकारको यो कदम सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...