जन्मदिनलाई प्रकृतिसँग जोड्दै समाजसेवी बुढाथोकीको प्रेरणादायी कदम

[sharethis-inline-buttons]

निकेश खनाल

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका–३, तल्लो पाटुका समाजसेवी तथा जनसहयोगी जेष्ठ नागरिक यमबहादुर बुढाथोकीले आफ्नो ७४औँ जन्मदिनलाई फरक र प्रेरणादायी बनाएका छन्। जन्मदिनको अवसर पारेर उनले पाटुको ऐतिहासिक रातमाटे डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्दै प्रकृति संरक्षण र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश दिएका छन्।

७४ वर्षको उमेरमा पनि विचार र कर्म दुवैमा युवा देखिने बुढाथोकी स्थानीय समाजमा परिचित नाम हुन्। उनी हाल जन सहयोगी ज्येष्ठ नागरिक सञ्जाल बर्दिवासका अध्यक्षसमेत हुन्। ‘श्रमले संसार बदल्छ’ भन्ने दृढ विश्वासका साथ उनी लामो समयदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। सडकदेखि समाज, श्रमदेखि संस्कारसम्म उनले पुर्‍याउँदै आएको योगदान स्थानीयवासीका लागि प्रेरणाको स्रोत बनेको छ।

जन्मदिनको दिन रातमाटे डाँडामा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएका छन्। वृक्षारोपण कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी, यसलाई दीर्घकालीन संरक्षण र विकाससँग जोड्ने उद्देश्य बुढाथोकीको रहेको देखिन्छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले रातमाटे डाँडाको सम्भावनाबारे चर्चा गर्दै यस स्थानबाट राईमण्डल डाँडामा रहेको गिद्धको बासस्थानसमेत अवलोकन गर्न सकिने बताए। उनले रातमाटे डाँडा भविष्यमा आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्न सक्ने धारणा व्यक्त गरे।

जन्मदिनकै अवसरमा बुढाथोकीले नगरप्रमुख क्षेत्रीसमक्ष केक काटेर जन्मदिन मनाउँदै कार्यक्रमलाई थप आत्मीय बनाएका थिए। औपचारिक समारोहभन्दा फरक, श्रम र सेवामै केन्द्रित यो जन्मदिनले उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो।

बुढाथोकीका अनुसार वृक्षारोपणको मुख्य उद्देश्य रातमाटे डाँडालाई ‘कल्पेश्वर पाटु बनभोज स्थल’ तथा ‘ज्येष्ठ नागरिक पार्क’का रूपमा विकास गर्नु हो। ज्येष्ठ नागरिकहरूका लागि शान्त, हरियाली र भेटघाटको स्थान बनाउने उनको सपना अहिले बिरुवासँगै रोपिएको छ।

स्थानीय समाजसेवी प्रेमबहादुर भुजेलका अनुसार रातमाटे डाँडा ऐतिहासिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण स्थान हो। करिब १० हजार वर्ष पुरानो हतियार कारखाना रहेको अवशेष जर्मन नागरिक तथा आविष्कारक गुडन कार्बिन्सले पहिचान गरेको बताइन्छ। यस्तै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको स्थानमा जन्मदिन मनाउँदै वृक्षारोपण गर्नु बुढाथोकीको दूरदृष्टिको परिचायक भएको भुजेलको भनाइ छ।

भुजेलका अनुसार आफ्नै श्रम र विभिन्न दाताहरूको सहयोगमा उक्त क्षेत्रलाई रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य बुढाथोकीको रहेको छ। यसका लागि उनले स्थानीय समुदायलाई समेत जोड्दै सामूहिक प्रयासको अवधारणालाई अगाडि बढाइरहेका छन्।

वृक्षारोपणपछि बिरुवाहरूको संरक्षण, चरिचरण नियन्त्रण तथा नियमित रेखदेखको सम्पूर्ण जिम्मेवारी आफूले नै लिने प्रतिबद्धता बुढाथोकीले व्यक्त गरेका छन्। “बिरुवा रोप्नु मात्र ठूलो काम होइन, हुर्काउनु अझ ठूलो जिम्मेवारी हो,” भन्दै उनले दीर्घकालीन संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमाल, रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष ईन्द्रप्रसाद ढुंगेललगायत विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बुढाथोकीको यो कदमलाई जन्मदिन मनाउने नयाँ र सकारात्मक संस्कृतिको सुरुवातका रूपमा मूल्याङ्कन गरेका छन्।

केक, मैनबत्ती र शुभकामनाभन्दा फरक, श्रम, हरियाली र समाजसेवामा केन्द्रित यमबहादुर बुढाथोकीको ७४औँ जन्मदिनले समाजलाई गहिरो सन्देश दिएको छ जस्ले समाजसेवामा लाग्नेहरुकालागी उमेर भनेको अंक मात्र हो भन्ने कुराको ज्वलन्त उदाहण दिदै उद्देश्य समर्पण नै जीवनको असली शक्ति हो भन्ने समेत बुझाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...