आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा बिहीबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो साझा दायित्व संस्थाले तालिम सञ्चालन गरेको हो।
तालिमको उद्घाटन कार्यक्रम हाम्रो साझा दायित्व की अध्यक्ष निरु कुमारीको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीरहनु भएको हो।
तालिमको उद्घाटन गर्दै क्षेत्रीले स्थानीय तहमा जिम्मेवार, तथ्यपरक र नैतिक पत्रकारिताको आवश्यकता औंल्याउनुभयो।
शनिबारसम्म सञ्चालन हुने तालिममा बर्दिवास नगरपालिकाभित्रका प्रत्येक वडाबाट पुरुष र महिला गरी कुल ५० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। तालिम दक्ष प्रशिक्षकहरूद्वारा सञ्चालन गरिएको अध्यक्ष निरु कुमारीले जानकारी दिनुभयो।
तालिमको उद्देश्य सहभागीहरूलाई पत्रकारिताका आधारभूत सिद्धान्त, समाचार लेखन, रिपोर्टिङ, तथ्य–जाँच तथा स्रोत व्यवस्थापनमा दक्ष बनाउनु रहेको छ। प्रशिक्षार्थीलाई स्थानीय तहमा जिम्मेवार र नैतिक पत्रकारिताको अभ्यास प्रवद्र्धन गर्ने तथा बर्दिवास नगरभित्र सक्षम र प्रशिक्षित सञ्चारकर्मीको नयाँ पुस्ता तयार गर्ने लक्ष्य तालिमले लिइएको छ।
तालिमको लक्ष्य समूहमा बर्दिवास नगरपालिका क्षेत्रभित्रका युवा, विद्यार्थी, महिला, समुदायका प्रतिनिधि तथा पत्रकारिताप्रति रुचि राख्ने ४४ जना सहभागी रहेका छन्। साथै पत्रकारितालाई करिअरको रूपमा अपनाउन चाहने तर औपचारिक तालिम प्राप्त गर्ने अवसर नपाएका व्यक्तिहरू पनि यो तालिममा सहभागी छन्।
