आज्ञा खवर
वर्दिबास
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरी क्षेत्र नं. १ मा चुनावी गतिविधि सशक्त बनाउने उद्देश्यका साथ चुनाव प्रचार–प्रसार समिति गठन गरी सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बर्दिबास नगरपालिका–१, बी.पी. राजमार्गस्थित उक्त सम्पर्क कार्यालयबाट पार्टीका सम्पूर्ण चुनावी कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय तथा क्षेत्रीय नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस महोत्तरीका प्रभाबशाली नेता चिरन्जिबी हमालले गाउँ टोल क्षेत्र सबैले रुख छापमा मतदान गर्न आव्हान गर्ने र देश बिदेस बाट आफ्नो घर परिवारमा नेपाली काङ्ग्रेस लाई जिताउन सन्देस पठाउन अनुरोध गरे । पार्टी एकजुट भएर युवा नेतृत्वमा चुनाबमा होमिएको हुदा सबै अट्ने र सबैलाई जोड्ने काम गर्ने बताए । तेसैगरी नेता प्रहलाद क्षेत्री ले जेन्जिको भावना अनुसार पार्टी रुपान्तरण भएकोले सबै युवाको मुद्दा काङ्ग्रेस ले सम्बोधन गर्नेमा ढुक्क भई रुखमा मतदान गर्न अनुरोध गरे । उनले लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा तथा समावेशी विकासका लागि नेपाली कांग्रेस अपरिहार्य शक्ति भएको धारणा व्यक्त गरे ।
नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार डा. मुकेशराज काफ्लेले जनताको विश्वास र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बर्दिबाससहित समग्र क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट योजना रहेको उल्लेख गरे ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फकी उम्मेदवार रेखा कुमारी यादवले महिलाको सहभागिता, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने विषयमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले दलित, महिला, जनजाति, पिछडावर्ग तथा अल्पसंख्यक समुदायको हक–अधिकारका लागि पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख गरिन् ।
कार्यक्रममा वक्ताहरूले राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका मूल सिद्धान्त भएको उल्लेख गर्दै जनताको अधिकार र स्वतन्त्रताको संरक्षणमा पार्टीको ऐतिहासिक योगदान स्मरण गरे। उनीहरूले लोकतन्त्र कमजोर पार्ने कुनै पनि प्रवृत्तिको विरुद्ध कांग्रेस एकजुट भएर उभिने स्पष्ट पारे।
सम्पर्क कार्यालयमार्फत घरदैलो अभियान, मतदाता भेटघाट, चुनावी सभा, प्रशिक्षण कार्यक्रम तथा प्रचार–प्रसार सामग्री व्यवस्थापनका कार्यलाई व्यवस्थित ढंगले अघि बढाइने जनाइएको छ। साथै, स्थानीय तहका समस्या पहिचान गरी तिनको समाधानका लागि उम्मेदवार तथा पार्टी नेतृत्वसँग प्रत्यक्ष संवाद गरिने पनि पार्टीले जनाएको छ ।
नेपाली कांग्रेसले महोत्तरी क्षेत्र नं. १ मा संगठनलाई थप मजबुत बनाउँदै जनताको मन जित्ने अभियानलाई तीव्र बनाउने रणनीति लिएको छ। पार्टी नेतृत्वले जनताको मत र विश्वासका आधारमा आगामी निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रम क्षेत्रीय सभापती महेश झाको सभापतित्वमा भएको थियो भने बर्दिबास नगर सभापती युवराज पोखरेल ले संचालन गरेका थिए ।
