आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनमा अवस्थित इन्दुशंकर चिनी उद्योगले आगामी क्रसिङ् सिजनका लागि तयारी स्वरूप आज विशेष पूजा–अर्चना सम्पन्न गरेको छ। उद्योगमा हरेक वर्ष क्रसिङ् सुरु हुनु अघि गरिने परम्परागत ‘डोङ्गा पूजा’ यस वर्ष पनि विधिवत् रूपमा सम्पन्न गरिएको हो।
उद्योगका उखु व्यवस्थापक योगनारायण रजकका अनुसार पुसको पहिलो सातादेखि मिल संचालन गर्ने योजना तयार छ। उनले हालको तयारीका आधारमा यस वर्ष उत्पादनमा राम्रो वृद्धि हुने विश्वास व्यक्त गरे।
गत वर्ष ३० लाख ४० हजार क्विन्टल उखु प्रशोधन गरेको उद्योगले यसपालि ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको प्रशासकीय प्रमुख ठाकुरप्रसाद नेपालले जानकारी दिए। यो लक्ष्य गत वर्षको तुलनामा करिब साढे चार लाख क्विन्टल बढी हो।
नयाँ सिजनमा उखु आपूर्तिदेखि प्रशोधनसम्मका कामलाई व्यवस्थित र सहजीकरण गर्ने तयारीसहित उद्योगले यस वर्ष उत्पादन वृद्धि गर्ने दाबी गरेको छ।
