आज्ञा खबर
सिन्धुली
सिन्धुलीमा ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत विभिन्न स्थानीय तह र सरोकारवाला निकायहरूले सचेतनामूलक तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गर्दै अभियानलाई सक्रिय ढंगले अगाडि बढाएका छन्।
अभियानकै क्रममा कमलामाई नगरपालिका–८ को समन्वय तथा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा परिवारमै उत्पन्न हुने समस्यामध्ये ‘सम्बन्ध विच्छेद’ले पार्ने सामाजिक तथा मनोवैज्ञानिक प्रभावबारे विशेष अन्तरक्रिया भयो।
कार्यक्रममा सहभागी वक्ताहरूले सम्बन्ध विच्छेदले दम्पतीबीच मात्र नभई घरपरिवार, समुदाय र विशेषगरी बालबालिकामा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यस विषयमा समयमै पहिचान, संवाद र समाधानका उपायमा ध्यान दिनुपर्नेमा जोड दिए।
वडा नं. ८ का अध्यक्ष कोमल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा स्तरका कार्यालयका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म आयोजना हुने १६ दिने अभियानअन्तर्गत जिल्लाभर सचेतना, छलफल, अन्तरक्रिया र अभियानमुखी कार्यक्रम निरन्तर रूपले चलिरहेको स्थानीय तहले जनाएको छ।
