जुन जोगी आएपनी कानै चिरीएको

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
अहिले समाजका हरेक उमेर समूहका मानिस वर्तमान राजनीतिक दलहरू र यिनीहरूका क्रियाकलापहरूबाट सन्तुष्ट छैनन् । नेतृत्वको चरित्र राजनीतिक स्वार्थको वरिपरि नै केन्द्रित भएको हुनाले समाजमा असन्तुष्टि बढेको हो । घटना तथा परिघटनाहरूको समाचार सुन्दा पढ्दा, हेर्दा, मुलुक विकास, सुशासन र सकारात्मक विषयवस्तु पढ्न र सुन्न पाइँदैन । भष्टाचार, गठबन्धन हेरफेर, काममा ढिलासुस्ती, गालीगलोज, कटाक्ष, आलोचनाजस्ता नेपाली राजनीतिमा भएका अवगुणहरू नै समाचार बन्ने गरेका छन् । विकास निर्माण र सिर्जना ओझेलमा परेको अवस्था छ । हिमाल, पहाड, तराईका गाउँ, बस्तीहरूमा चिया गफदेखि खेत, खोला, घाँस, दाउरा, मेला पात, छलफल, बहस, अन्तक्र्रियाहरूमा नेताहरूले मुलुक बिगारे भन्ने अभिव्यक्ति व्यापक रूपमा आउने गरेको पाइन्छ । नीतिभन्दा नेता हावी भएकाले मुलुकमा सुशासन हरायो, भ्रष्टाचार मौलायो । नेताहरू नाता र दाताहरूको वरिपरि सीमित भए । राजनीतिमा परिवारवाद हावी भयो । यदि, परिवारका सदस्यहरूभन्दा बाहिर जानुपर्ने भएमा दाताहरूलाई अवसर दिने काम भयो । लोकतन्त्रका नाममा केही नेताहरूको सिन्डिकेटमा दलहरू चलेका छन् । शिक्षालय, न्यायालय, मन्त्रालयलगायतका ठाउँहरूमा भागबन्डा हुने गरेको छ । संवैधानिक आयोगहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं विभिन्न निगमलगायतका ठाउँहरूमा राजनीतिक दलहरूको प्रभाव र रवाफ देख्दा हाम्रो नेतृत्व नाता र दाताको पक्ष पोषणमा लागेको प्रस्ट देखिन्छ ।
मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्ने नेताको अभावका कारण राजनीतिक विसंगतिहरू चुलिएका छन् । नेता, नाता र दाताहरूको रुचीनुसार नै बारम्बार सरकार परिवर्तन भइरहेका छन् । नेतृत्वले मुलुकको अर्थतन्त्रलाई भष्मासुर तरिकाले नीतिगत खर्च गरेको पाइन्छ । विकसित मुलुकका प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्च ओहोदाका व्यक्ति एवं व्यक्तित्वहरू कामबाट निवृत्त भएपछि राज्यले कुनै सुविधा दिँदैन । उनीहरूले योग्यता र विज्ञताका आधारमा काम गरेको पाइन्छ । तर, हाम्रो मुलुकका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, सभामुखलगायतका पूर्व आईपीहरूको जीवनभरको सेवा, सुविधा पाउने नीतिगत प्रबन्ध गरेर गरिब जनताको करबाट जम्मा भएको ढुकुटी दुरुपयोग गर्ने काम भएको छ । अझ यतिले मात्र नपुगेर ८ सय ८६ जना सांसदहरू बनाइएको छ । सातवटा प्रान्तीय सरकार र यससँग जोडिएको अर्बांै रुपैयाँ अनावश्यक रूपमा खर्च गरिएको छ । नेता, नाता र दाताहरूको रूचीनुसार परिवर्तन हुने सरकारले अर्थतन्त्रलाई भष्मासुर नीतिगत खर्चको स्रोत बनाएको छ
यो मुलुकमा जबसम्म जनताहरू सचेत भएर आफ्ना राजनीतिक दल र नेताहरू भन्दा माथि मुलुक छ, समाज छ भन्ने चेतनाले प्रशिक्षित हुदैनन्, तबसम्म कम्बल ओढेर घिउ खाने नेताहरूको सिन्डिकेटबाट मुलुकले मुक्ति पाउने देखिँदैन । असत्यका पछाडि लामबद्घ लाग्ने जनता र नीति, सिद्घान्त र लोकलाज पचेको नेतृत्व भएसम्म नेपाल र नेपालीको भविष्य उज्ज्वल हुने देखिँदैन । कतिपय सचेत नागरिकले यस मुलुकलाई बिगार्ने नेपाली जनताहरू हुन् भन्ने गरेको सुनिन्छ । मुलुक चलाउन नसक्ने असक्षमहरूलाई पटकपटक मतदान गरेर सत्तामा पु¥याउने काम समाजले गरिरहेको छ । भ्रष्ट र नटबरलालहरूका पछाडि समाज लागेको देख्दा मुलुकले अझै दुःख पाउने देखिन्छ । शीर्ष भनिने असक्षम व्यक्तिहरूले सत्तामा पुग्नका लागि गठबन्धन वा एकले अर्को दलको निर्वाचन चिह्नमा मत हाल्न आह्वान गर्दा जनताले त्यसै गरे । नेपाली समाजको चरित्रले गर्दा सक्षम तथा इमानदार व्यक्तिहरू राजनीतिमा आउन सक्दैनन् । आइहाले पनि स्वाभिमानी सक्षमहरू राजनीतिमा टिक्न सक्दैनन् । यस अर्थमा राजनीतिक विसंगतिको एउटा पाटो नेपाली समाज पनि भएको देखिन्छ ।
लोकतन्त्र आवरणमा आयो, व्यवहारमा आएन । साइनबोर्ड र नेपाल सरकारका लेटरप्याडहरूमा लोकतान्त्रिक व्यवस्था भन्ने गरिएको भए तापनि नेतृत्वको चिन्तन र चेतनामा लोकतन्त्र देखिँदैन । लोकतन्त्र आएपछि आमजनताको चुलोचौको महँगिएको छ । युवापुस्ताले मुलुक छोड्नुपरेको छ । उत्पादन घटेको छ, भ्रष्टाचार बढेको छ । यस्तै हो त लोकतन्त्र ? लोकतान्त्रिक शासन व्यवस्था ? होइन । लोकतन्त्रको अनुभूति जनताले गर्नुपथ्र्याे । गर्न पाएनन् । लोकतन्त्र विकास, सुशासन, रोजगार, उत्पादनसँग जोडिनुपथ्र्यो, जोडिनसकेन । शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय तथा सर्वसुलभ हुनुपथ्र्याे । यसो हुनसकेन । यसरी हेर्दा लोकतन्त्र सीमित, नेता, कार्यकर्ता र नेताका नातागोताहरूलाई स्वर्ण युगका रूपमा देखियो । आमजनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मातजस्तो भयो ।
यो मुलुकमा राजनीति नीतिभन्दा नेताको षड्यन्त्रमा रुमलिइरहेको छ । नेताको नियतका कारण विधिको शासन हराउँदै गयो । राज्यका निकायहरू तथा कर्मचारीतन्त्रमा लोकतान्त्रिक आचरण तथा व्यवहार हुनसकेन । दलका शीर्ष भनिने नेताहरूको कर्म देखिरहेको प्रशासनतन्त्रले कालेकाले मिलेर खाउँ भालेको जुक्ति सुझायो । नेतृत्वलाई भ्रष्टाचारका बाटा र पाटाहरू बुझायो । त्यसैले वालुवाटार जगा, सुन तस्करी, टेरामक्स प्रकरण, भुटानी शरणार्थी काण्ड, ओम्नी, यती, दिनबन्धु चिया प्रकरणलगायतका घटनाहरू घटे यस्तो राजनीतिक तथा प्रशासनिक वितण्डामा संलग्न भएकाहरूलाई यिनका वरिपरि परिक्रमा गर्नेहरूले देवत्वकरण गर्न छाडेनन् । ताली पड्काउने र अवसरको पर्खाइमा बस्नेहरूको स्वार्थका कारण अपराध गर्नेहरू अझै साहसी बन्दै गएका देखिन्छ ।
लोकतन्त्र भनेको अरूको विचारको पनि आदर गर्ने, सबैको हित र कल्याणका लागि काम गर्ने शासन व्यवस्था हो । तर, हाम्रा मुलुकका नेताहरूले लोकतन्त्रको माला लगाएका दलहरूका बीचमा आन्तरिक रिस, डाह, ईष्र्या, आलोचना, तँछाड मछाड, गुटबन्दी तथा स्वार्थको अभ्यास व्याप्त छ । आफ्नो र आप्फ्नाका हितमा केन्द्रित छ । नेतृत्वमा पुग्नेहरूले काम गर्न नसकेको स्वीकार पनि गर्दैनन्, काम पनि गर्न सक्दैनन्। मुलुकको राजनीतिक दल र यिनका नेतृत्वकर्ता, जुन जोगी आए पनि कानै चिरेकाजस्ता प्रमाणित भएको अवस्था छ । काण्डैकाण्डले भरिएको राजनीतिक अभ्यासका कारण समाजका अन्य क्षेत्रमा पनि इमानदारिता खस्कँदै गएको छ
मुलुक नेतामुखी स्वार्थको चंगुलमा दिन प्रतिदिन भासिइरहेको छ । मुलुकको आवश्यकता के हो ? विकासका कार्ययोजनाहरू कस्ता बनाउने? मुलुकमा आर्थिक समृद्धि कसरी ल्याउने? सुशासन कसरी स्थापित गर्ने ? उद्योगहरू कसरी स्थापना गर्न सकिन्छ ? शिक्षित युवाहरूलाई रोजगारको सिर्जना कसरी गर्ने? प्रशासनतन्त्रलाई कसरी रूपान्तरण गर्ने ? कृषि उत्पादनलाई कसरी आधुनिकीकरण गर्ने ? शिक्षामा सुधार कसरी गर्ने ? स्वास्थ्य सेवालाई कसरी सर्वसाधारणसम्मको पहँुचमा पु¥याउने, मुलुकका अनावश्यक संरचनाहरू हटाई आर्थिक व्यवस्थापन कसरी गर्नेलगायतका एजेन्डाहरूमा कुनै छलफल, बहस, अन्तक्र्रिया भएको पाइँदैन । विज्ञ, विशेषज्ञ, लेखकहरूबाट प्रकाशित लेख, रचना, समाचारहरूबाट मुलुकको वास्तविकता बुझेर तत्अनुरूप काम गर्ने राजनीतिक संस्कार नहुनु दुर्भाग्य हो । राजनीतिक सुझबुझ भएका नागरिकले माओवादीकै कारण मुलुकमा राजनीतिक उथुलपुथल भएको हो भन्ने गर्छन् । माओका चेलाहरूले यो कुरा स्वीकार गर्दैनन् । उनीहरूको तर्क सुनिन्छ, मुलुकमा धेरै परिवर्तन भएको छ । अहिलेका राजनीतिक परिवर्तनहरू माओवादीकै करण भएको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिकलगायतका राजनीतिक परिवर्तनहरूको प्रणेता माओवादी हो भन्ने गरिन्छ । मानांै उनीहरूको दाबी सत्य हो भने यी परिवर्तनले समाजलाई के योगदान दियो ? यस दृष्टिकोणबाट मुलुकका अन्य राजनीतिक दल, नागरिक समाज, बुद्घिजीवीलगायत सिंगो समाजले सोच्नुपर्ने होइन ? मुलुकको वास्तविकताको मूल्यांकन गर्नुपर्ने होइन ? अहिलेको व्यवस्थामा राखिएको समानुपातिक निर्वाचन प्रणालीकै कारण प्रत्यक्ष निर्वाचनमा कुनै पनि दलको बहुमत आउने अवस्था छैन । यो निर्वाचन प्रणाली र अनावश्यक सांसदहरूको संख्या हाम्रो मुलुकका सन्दर्भमा अनावश्यक सिद्घ भइसकेको छ । नेतृत्वले नाता र दाताहरूलाई सांसद बनाउनका लागि नै यो व्यवस्था राखेका हुन् भन्ने जानकारहरूको तीखो टिप्पणी छ । अहिलेको निर्वाचन प्रणालीकै कारण राजनीतिक अस्थिरता, गठबन्धन, असक्षमहरूको भीड तथा राजनीतिको दुरुपयोग भइरहेको छ । मुलुकलाई भद्रगोल बनाएर सुविधामा डकार्नेहरूले मुलुक कब्जा गरेका छन् । यो कुरा राजनीति गर्ने, दलको झोला बोक्ने, नेताहरूको परिक्रमा गर्नेहरूले किन बुझ्दैनन् ? बुझेर पनि किन बुझ पचाउँछन् ? नागरिक समाज कहाँ छ ? मुलुकको प्रभुत्व वर्ग कहाँ छ ? राजनीति गर्ने नेताहरूकै संलग्नतामा अनेक प्रकारका काण्ड घटिरहेका छन् । काण्डैकाण्डले भरिएको राजनीतिक अभ्यासका कारण समाजका अन्य क्षेत्रहरूमा पनि इमानदारी खस्कँदै गएको छ । राजनीतिमा इमान हराएको छ । लोकलाज पचेको छ । नेपाली जनताले कहिलेसम्म टुलुटुलु हेरेर बस्ने ? अब यसरी नबसौं ! गुण र दोषका आधारमा धारणा बनाआंै । मुलुक हामी सबैको हो । राजनीतिभन्दा धेरै माथि मुलुक हुन्छ भन्ने बुझौं ! नेता, नाता र दाताको वरिपरि घुमिरहेको राजनीतिक अभ्यासलाई जनता र मुलुकको पक्षमा काम गर्ने बनाउनका लागि सबै नागरिक एकजुट होआंै !

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...