बर्दिबासमा कृषि र उद्यमशीलताको नयाँ बहसः महोत्सवले देखायो उत्पादनमुखी रूपान्तरणको बाटो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दीबासमा सञ्चालन भइरहेको पाँचौँ आदिवासी जनजाति महोत्सव २०८३ केवल सांस्कृतिक प्रदर्शनमा सीमित मात्रै रहेन  यो त कृषि र स्थानीय अर्थतन्त्रका महत्वपूर्ण मुद्दामाथि केन्द्रित समेत रह्यो शनिबार महोत्सवको नवौँ दिन स्थानीय उत्पादनको प्रदर्शनीसँगै कृषिनीति, उत्पादन विस्तार र बजारीकरणका विषयमा गहन बहस गरिएको हो।

नेपाल आदिवासी जनजाति महासंघ महोत्तरीको आयोजनामा भएको कार्यक्रममा किसान, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिबीच खुला संवाद भएको थियो। छलफलका क्रममा कृषकहरूले भोग्दै आएका चुनौती, अनुदान वितरणको प्रभावकारिता, बजार पहुँचको अभाव र उत्पादन लागत न्यूनीकरणका उपायहरूबारे विस्तृत रूपमा विचार आदान–प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि बर्दीबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्रीले कृषकलाई केन्द्रमा राखेर विभिन्न सहुलियत कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार धान, गहुँ, बेसारका बिउ, कृषि उपकरण तथा हाते ट्याक्टरमा ५० प्रतिशतसम्म सहुलियत अनुदान उपलब्ध गरिँदै आएको छ। उनले यस्ता सेवाबाट लाभ लिनका लागि कृषकले अनिवार्य रूपमा आवेदन प्रक्रिया पूरा गर्नुपर्ने बताए।

नगरप्रमुख क्षेत्रीले वास्तविक कृषकको तथ्यांक अभावका कारण योजना निर्माणमा कठिनाइ भइरहेको उल्लेख गर्दै सूचना प्रकाशित हुँदा आवेदन दिन सबै कृषकलाई आग्रह गरे। सही तथ्यांकका आधारमा मात्रै प्रभावकारी योजना र बजेट विनियोजन गर्न सहज हुने उनको भनाइ थियो।

विगतमा पूर्वाधार निर्माणमा केन्द्रित बजेट अहिले उत्पादनमुखी क्षेत्रमा मोड्न लागिएको पनि उनले बताए। चुरे क्षेत्रको भौगोलिक अवस्थाका कारण सडक र पुल निर्माणमा ठूलो लगानी गर्नुपरे पनि अहिले आधारभूत पूर्वाधार तयार भइसकेकाले अब उत्पादन, रोजगारी र बजार व्यवस्थापनमा जोड दिइने उनले स्पष्ट पारे।

महिला सशक्तीकरणलाई कृषि विकाससँग जोड्दै नगरपालिकाले प्रत्येक वडामा ४८ सदस्यीय महिला समूह गठन गर्ने योजना अघि बढाएको छ। ती समूहलाई सीपमूलक तालिम प्रदान गरी उनीहरूले रोजेको कृषि वा पशुपालन क्षेत्रमा लगानी गर्ने नीति अवलम्बन गरिएको छ। बाख्रापालन, तरकारी तथा फलफूल खेतीजस्ता कार्यक्रमहरू केही वडामा कार्यान्वयनमा समेत आइसकेका छन्।

यद्यपि कार्यक्रममा सहभागी कृषकहरूले व्यवहारिक समस्या अझै समाधान हुन नसकेको बताएका छन्। विशेष गरी सिँचाइका लागि प्रयोग हुने बोरिङ र विद्युत् मिटर व्यक्तिगत हुँदा लागत बढेको गुनासो उनीहरूले गरेका छन्। यस विषयमा नगरप्रमुख क्षेत्रीले आगामी बजेटमार्फत सामूहिक कृषि मिटर प्रणाली लागू गर्ने घोषणा गरेका छन्, जसअन्तर्गत जडानदेखि महसुल व्यवस्थापनसम्म नगरपालिकाले जिम्मेवारी लिने तयारी रहेको छ।

स्थानीय कृषकहरूको अनुभवले कृषि क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको देखाएको छ। बर्दीबास–१३ का कृषक मनिष समालले ड्रागन फल खेतीबाट राम्रो आम्दानी लिन सफल भएको अनुभव सुनाए। त्यस्तै, बर्दीबास–१२ का मेथल दासले दुई विघा जमिनमा खरबुजा खेती गरेर वार्षिक करिब दुई लाख रुपैयाँ बचत गर्दै आएको बताए। उनले बजार व्यवस्थापन र आयात नियन्त्रण भए अझ बढी लाभ लिन सकिने धारणा राखे।

तर अर्कोतर्फ बर्दीबास–८ का कृषक टंक आलेले समयमा मल नपाउँदा महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे। साथै नीलगाई र बँदेलजस्ता जंगली जनावरले बाली नष्ट गर्ने समस्या पनि गम्भीर रहेको उनले बताए।

महोत्सवअन्तर्गत आयोजित कृषि प्रदर्शनीमा बर्दीबास, भंगाहा र गौशाला नगरपालिकाबाट ल्याइएका उत्पादनहरू प्रदर्शनमा राखिएका थिए। प्रदर्शनीमा ३० भन्दा बढी तरकारी, ६ प्रकारका अन्न र १५ प्रकारका फलफूल समेटिएका थिए, जसले स्थानीय उत्पादनको विविधता र सम्भावना झल्काएको छ।

समग्रमा, महोत्सवले सांस्कृतिक संरक्षणसँगै कृषि विकास, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि नयाँ दृष्टिकोण र बहसलाई अघि बढाएको सहभागीहरूको निष्कर्ष रहेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...