आज्ञा खबर
वीरगञ्ज
जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा भन्सार छली गरी भित्र्याइएका ७० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। प्रहरीले गत कात्तिक महिनामा राजस्व चुहावट तथा अवैध गतिविधि नियन्त्रण गर्ने अभियानअन्तर्गत ७० लाख ७० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।
प्रहरीले भन्सार छली नियन्त्रणसँगै प्राकृतिक स्रोतको अवैध दोहन, अवैध मदिरा कारोबार तथा वन पैदावारको चोरी निकासीविरुद्ध पनि कारबाही तीव्र बनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न १० वटा ट्याक्टर नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, अवैध मदिरा नियन्त्रण अभियानका क्रममा ६ हजार २६३ लिटर तयारी मदिरा र ६ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गरिएको छ। उक्त कारोबारमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वन पैदावारको अवैध ओसारपसार नियन्त्रणका क्रममा १० वटा सवारीसाधन नियन्त्रणमा लिइनुका साथै ३९ क्युबिक फिट काठ बरामद गरिएको छ। यसबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व तथा जरिवाना संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
यसैबीच, कात्तिक महिनामा पर्सा जिल्लाभित्र ३७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने ९४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरी प्रहरीले १० लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
प्रहरीले जिल्लामा भन्सार छली, राजस्व चुहावट, अवैध कारोबार र ट्राफिक नियम उल्लङ्घन नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।
