सर्लाहीमा गाँजा कारोबारको विवादले लियो वृद्धको ज्यान, १९ वर्षीय युवक पक्राउ

आज्ञा खबर

सर्लाही

सर्लाहीको हरिपूर्वा नगरपालिका–१ बसन्तपुरमा लागुऔषध गाँजाको किनबेचलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि एक वृद्धको ज्यान गएको छ। घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाको टुक्राले निर्मम आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा ७४ वर्षीय सुकदेव साह (वासुदेव साह तेली) रहेका छन्। आक्रमणबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा मंसिर ३ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय शंकर कुमार यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार कात्तिक २७ गते राति करिब १० बजे यादव घरभित्र प्रवेश गरी सुतिरहेका साह र उनकी ७३ वर्षीया श्रीमती जिपसि देवीमाथि इँटाको टुक्राले टाउको तथा अनुहारमा प्रहार गरेका थिए। आक्रमणपछि उनी फरार भएका थिए।

भोलिपल्ट बिहान अबेरसम्म दम्पती नउठेपछि जेठा छोराले घरको ढोका खोलेर हेर्दा दुवै जना घाइते अवस्थामा फेला परेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल घटनास्थल पुगेर घाइते दम्पतीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका यादव गाँजा सेवनकर्ता रहेको खुलेको छ। मृतक र यादवबीच गाँजाको किनबेचका विषयमा विवाद भएपछि पुरानो रिसइवीका कारण आक्रमण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनाको भोलिपल्ट कात्तिक २८ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो। साहको मृत्यु हुनुअघि उनीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।

मृत्यु भएपछि पक्राउ परेका यादवविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय केशरगंजले थप अनुसन्धान गरिरहेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...