बर्दिवासमा स्वच्छ उत्पादनलाई बजारीकरणसँग जोड्ने नीतिगत छलफल

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
स्वच्छ उत्पादन अभियानलाई प्रभावकारी रूपमा बजारीकरणसँग जोड्ने र स्वच्छ उत्पादनको पहिचान सुनिश्चित गर्ने उद्देश्यले बर्दिवास नगरपालिकामा शनिबार नीतिगत छलफल सम्पन्न भएको छ। नगरपालिकासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा किसानलाई बजारसँग कसरी जोड्ने र स्वच्छ उत्पादनलाई कसरी पहिचान गर्ने भन्ने विषयमा अन्तरक्रिया तथा विचार विमर्श गरिएको हो।

कार्यक्रममा बर्दिवास नगरपालिकाकी उपप्रमुख तारा देवी महतोले कृषक व्यवसाय पाठशाला मार्फत “सहभागितामूलक सुनिश्चितता प्रणाली (पीजीएस)” कार्यविधि तर्जुमा गरी पर्यावरणीय कृषि उत्पादन तथा बजारीकरण प्रवद्र्धन गरिने बताइन्। उनले स्थानीय स्तरमै स्वच्छ उत्पादनको पहिचान र विश्वसनीयता स्थापित गर्न पीजीएस महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरिन्।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल प्रदेशको आयोजनामा भएको अन्तरक्रिया तथा विचार विमर्श कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपाल प्रदेशका संयोजक दिलिप कुमार साहले कृषक पाठशालाको अवधारणा, अभ्यास र यसको प्रभावबारे जानकारी दिए। त्यस्तै, महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले सहभागितामूलक सुनिश्चितता प्रणाली (पीजीएस) को सामुदायिक प्रक्रिया, प्राविधिक पक्ष, बजारीकरणका आयाम तथा नीतिगत प्रावधानबारे प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कृषि तथा पशुपन्छी शाखाका प्रतिनिधि, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले विगत चार वर्षदेखि सिरहा र सप्तरी जिल्लामा केएर नेपालसँगको साझेदारी तथा स्थानीय तहहरूसँगको समन्वयमा कृषक पाठशाला कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त पाठशाला अन्तर्गत स्वच्छ उत्पादन अभियान किसानकै अगुवाइ र सहभागितामा सञ्चालन भइरहेको छ।

कृषक पाठशाला पद्धति खुला सिकाइमा आधारित रहेको छ, जहाँ “किसान नै विज्ञ हुन्” भन्ने मान्यताअनुसार किसानहरूले आफ्नै खेतबारीमा प्रयोग र अनुसन्धानमार्फत सिक्ने अवसर पाउँछन्। स्वच्छ उत्पादनलाई मूल्य श्रृंखलासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सिरहा र सप्तरीका करिब ५सय कृषक समूहमा कार्यान्वयन भइसकेको छ।

यसबाट प्राप्त सिकाइलाई विस्तार गर्ने क्रममा बर्दिवास नगरपालिकामा एफ.ए.ओ.सँगको साझेदारीमा सञ्चालित वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत ज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थासँग कृषक पाठशाला कार्यक्रम सञ्चालन गरिएको हो।

बर्दिवास–१० मा सञ्चालन गरिएको पाठशालामा काँक्रा र गोलभेँडाको प्रदर्शनी स्थल स्थापना गरिएको छ। उक्त स्थललाई खुला सिकाइ केन्द्रका रूपमा विकास गर्दै किसानहरूबीच सिक्ने–सिकाउने प्रक्रिया अगाडि बढाइएको छ। यहाँ प्राप्त ज्ञानलाई किसानहरूले आफ्ना खेतबारीमा प्रयोग गर्दै स्वच्छ उत्पादन अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन्।

ज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष चनवती श्रेष्ठका अनुसार करिब १३ सय घरधुरी सदस्य रहेको यो सहकारीले पर्यावरणीय कृषि प्रवद्र्धनमा अग्रसर हुने अवसर पाएकोमा खुशी व्यक्त गरिन्। उनले स्वच्छ उत्पादन अभियानलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै महासंघप्रति आभार व्यक्त गरिन्।

स्थानीय स्तरमै उत्पादन, पहिचान र बजारीकरणलाई जोड्ने यस अभियानले मानव स्वास्थ्य, जैविक विविधता र माटोको उर्वराशक्ति संरक्षणमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...