निकेश खनाल
बर्दिवास
मधेसी महिला भन्नेबित्तिकै प्रायजसोको दिमागमा एउटा चित्र आउँछ । श्याम वर्णकी घुम्टो ओढेर बसेकी नारी । मूलधारका मिडियाले समेत मधेसी महिलाका बारेमा यस्तै खाले चित्र सम्प्रेषण गरिरहेको छ । यो आधुनिक भनिएको समाजबाट निकै पर रहेकी, एनजिओ÷आइएनजिओबाट उद्धारको पर्खाइमा बसेकी, दाइजोप्रथाले प्रताडित ‘बिचरी भन्नुपर्ने अवस्थाकी महिला नै मधेसी महिला हुन् भन्ने बुझाइ धेरैको दिमागमा छ ।
मधेसी महिलाका विषयमा यो एकसरो वा एकोहोरो बुझाइ सही छ त ? के मधेसी महिला ‘नादान, अवला र बिचरी नै हुन् ? के आज पनि घुम्टोप्रथा र दाइजोप्रथाले प्रताडित हुनुपर्ने अवस्था मधेसी महिलाको आमनियती हो त ? यी प्रश्न आजको समयमा निकै पेचिलो बहसका रूपमा देखा परिरहेको छ ।
विगतमा मधेसी समाजमा महिलालाई सामाजिक, राजनीतिक र आर्थिक कार्य गर्न बन्देज जस्तै थियो । यस्तो कार्य पुरुषको ठेक्काजस्तै थियो । तर, अब समय बदलिएको छ । सामाजिक कार्यमा होस् कि राजनीतिक अभियानमा मधेसी महिलाको सहभागिताले निर्णायक अर्थ राख्न थालेको छ । मधेसमा विशेष गरी पञ्चायतकालमा चलाईएको बिभिन्न राजनीतिक र सामाजिक अभियान, १० वर्षे जनयुद्ध अनि मधेस विद्रोहले गाउँ–गाउँमा फैलाएको अधिकार र आत्मसम्मानका लागि आफैँ जाग्नुपर्ने चेतनाले परिणाम दिइरहेको छ। आज मधेसमा आएको बदलाब विगत लामो समयदेखि कुरीति र विसंगतीविरुद्ध सामाजिक राजनीतिक अभियन्ताले चालेका अभियानकै कारण सम्भव भएको हो भन्न संकोच मान्नुपर्दैन ।
खुल्दै छन् मधेसी महिलाका घुम्टो
घुम्टोप्रथा मधेसी महिलालाई घरको चार दिवारभित्र मात्र सीमित राख्ने छेकेवार हो । विगतमा घुम्टोप्रथा मधेसी महिलाको आमप्रवृत्ति थियो, तर आज घुम्टोप्रथा मधेसी महिलाको आमप्रवृत्तिका रूपमा छैन । अहिले मधेसबाट घुम्टोप्रथा हराउँदै गएको छ यो मधेसी महिलाको अवस्थामा आएको परिवर्तनको संकेत हो ।
आजको मधेसी समाज र मधेसी महिलाको तस्बिर नियालौँ । मधेसमा हुने विवाहलाई नियाल्नु भएको छ भने त्यहाँ पक्कै देख्नुहुनेछ डिजे बाजाको पछाडि हिन्दी, भोजपुरी र मैथिली गीतमा बडो फुर्तिका साथ नाचिरहेका मधेसी महिला ।
मधेसको प्रायः विवाहमा अनिवार्यजस्तै बनेको डिजे बाजाको नकारात्मक प्रभावको कुरा यहाँ छाडौँ, तर त्यहाँ किशोरी र युवती मात्र होइन, प्रौढ महिला पनि उसैगरी ‘बल्ले बल्ले’ स्टाइलमा नाचिरहेको भेट्नुहुन्छ । त्यहाँ पर्दा÷घुम्टो÷घुँघटको नाकमुखै देखिँदैन । पहिले–पहिले मधेसी महिला जन्ती (बरियाती) जाँदैनथे, तर अहिले बरियातीमा महिला, युवती र किशोरीको संख्या उल्लेख्य हुन्छ । बडो ठाँटका साथ अहिले मधेसी महिला बरियाती जान्छन् । त्यहाँ घुम्टोप्रथाको नामोनिसान हुँदैन ।
विगतमा मधेसी महिला मलामी जाने कुराको कल्पनासम्म गर्न सकिँदैनथ्यो, तर अचेल मधेसी महिला मलामी मात्र जादैनन् परिआएको खण्डमा प्रियजनको लासलाई काँध थाप्न पनि तयार हुन्छन । यो मधेसी समाजको सामाजिक चेतनामा आएको परिवर्तनले ल्याएको हो । मधेसमा धेरै धार्मिक मेला र उत्सव हुने गर्छन । चाहे त्यो मिथिला परिक्रमा होस् या रामनवमी मेला अथवा साउनमा महोत्तरीको टुटेश्वरलगायत महादेवका मन्दिरमा लाग्ने मेला हुन । ती सबै मेला र उत्सवमा सहभागी हुने मधेसी महिलालाई नियाल्यौँ भने त्यहाँ धार्मिक प्रवृत्ति मात्र भेट्दैनौँ घुम्टो त्यागेका मधेसी महिलाको सगौरवमय उपस्थिति पनि भेट्छौँ । यसरी घुम्टो अब मधेसी महिलाको आमपहिचान नरहेर, तर यो केही पुरातनपन्थी मधेसी महिलाको अल्पसंख्यक प्रवृत्तिका रूपमा सीमित हुन पुगेको छ ।
बढ्दै छन् दहेजविनाका विवाह
अहिले मधेसमा ‘दहेज’ नलिईकन गरिने विवाहको संख्या बढिरहेको छ । राजनीतिक र सामाजिक कार्यमा संलग्नहरू सामुहिक विवाहदेखि आदर्श विवाहलाई प्रेरित गरिरहेका छन् । जसले प्रत्यक्ष÷परोक्ष रूपमा दाइजोप्रथाविरुद्ध अभियान छेडिरहेको छ । यसले भविश्यमा दाइजोका कारण प्रताडित हुने महिलाको संख्या अबश्यै घटाउने छ ।
राज्यकै तहवाट बालिका शिक्षामा जोड दिएर मधेसमा चलाइएको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान, छात्रा बिमा कार्यक्रमजस्ता दीर्घकालीन महत्वका कार्यक्रमदेखि किशोरी छात्रालाई साइकल वितरण, विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणजस्ता साना तर अर्थपूर्ण अभियानले समेत मधेसमा छोरीको शिक्षामा सकारात्मक प्रभाव पार्दै गएको छ । आजका छोरी शिक्षित हुनु भनेको भविष्यका आमाहरू शिक्षित हुनु हो । हिजो जस्तो दहेजका कारण सिर्जना हुने महिला हिंसाको विकराल रूप आज क्रमशः कम हुँदै गएको छ भने भोलि अझ कम हुने आशा गर्न सकिन्छ । छोरीलाई दाइजो होइन, अंश देऊ भन्ने सामाजिक अभियानले सार्थकता पाउनेछ । सम्पत्तिमाथिको महिला स्वामित्वले दहेजका कारण हुने महिला हिंसा र उत्पीडनका घटनालाई निमिट्यान्न पार्न सक्नेछ ।
बढ्दै छ आत्मनिर्भरता
जसरी रेमिट्यान्सले सिंगो देशको आर्थिक जीवनलाई प्रभाव पारेको छ त्यसैगरी मधेस र मधेसी महिलाको आर्थिक जीवनलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । आजभोलि श्रीमान् या छोराले विदेशबाट पठाउने पैसाले मात्र होइन, विगतदेखि नै मधेसी महिला कृषिजन्य वस्तुको उत्पादन तथा त्यसको बिक्री–वितरण र बजारीकरणसँग प्रत्यक्ष संलग्न थिए । आज पनि मधेसमा लाग्ने हाटबजारलाई नियाल्ने हो भने त्यहाँ आफैँले उत्पादन गरेका कृषि उपजको बिक्री गर्ने पुरुषको भन्दा महिलाको संख्या धेरै भेट्न सकिन्छ । यसले मधेसी महिलाको निरन्तरको आर्थिक क्रियाकलापले पक्कै पनि उनीहरूलाई आत्मनिर्भताको बाटोतिर डोहो¥याउँदै छ । यस्तो आत्मनिर्भर्ताले पक्कै पनि महिला हिंसा र उत्पीडनलाई घटाउन मद्दत गर्नेछ ।
हिजोभन्दा आज जग्गा–जमिनको स्वामित्वसमेत महिलाको नाममा राख्ने प्रवृत्ति बढ्दो छ । राज्यको सकारात्मक विभेदको नीतिले पनि यो सम्भव भएको हो । वितेका १० वर्षमा मधेसमा जग्गा जमिनमा महिलाको स्वामित्व कम्तीमा दोब्बरले वृद्धि भएको छ । यी सब कुराले पनि मधेसी महिलाको अवस्था बदल्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
विगतमा मधेसी समाजमा महिलालाई सामाजिक, राजनीतिक र आर्थिक कार्य गर्न बन्देजजस्तै थियो । यस्तो कार्य पुरुषको ठेक्काजस्तै थियो । तर, अब समय बदलिएको छ । सामाजिक कार्यमा होस् कि राजनीतिक अभियानमा मधेसी महिलाको सहभागिताले निर्णायक अर्थ राख्न थालेको छ ।
सामाजिक र राजनीतिक संघर्षमा अघि बढेका मधेसी महिलालाई देशको आमनजरले बिचरा र कमजोर ठाने पनि मधेसको राजनीतिक संघर्ष र त्यसको इतिहासलाई नियाल्दा कमजोर होइन अब्बल भेटिएका छन । जनयुद्धसँगै विशेषगरी मधेस विद्रोहका वेला मधेसी महिलाले देखाएका साहस र वीरतालाई कसैले नजरअन्दाज गर्न सक्दैन ।
कुचो र थाल लिएर जुलुस निकाल्नेदेखि अग्र भागमा रहेर गोली थाप्नसम्म पछि नपरेका मधेसी महिला कसरी कमजोर हुन सक्छन् ? धनुषाको सहिदनगरस्थित यदुकुवामा ०४६ सालको आन्दोलनमा सहिद भएका तीनजना मधेसी महिला सहिदको सालिक नियालेपछि र सिराहाको कर्जन्हामा विसं. ०११÷०१३ सालतिरै जयगोविन्द साहको किसान आन्दोलनमा महिलाको सहभागिता र प्रहरी तथा गाउँका सामन्तविरुद्धको संघर्षका गाथा सुनेपछि मधेसी महिलाको वीरता र साहसलाई सलाम गर्न मन लाग्छ ।
सामाजिक संघर्षको कुरा गर्दा पितृसत्ताको जाँतोमा पिल्सिएका मधेसी महिलाले बोक्सीजस्ता जघन्य आरोपका बाबजुद कुरीति र विसंगतिविरुद्ध थुप्रै संघर्ष गरेका छन् । थुप्रै मरनीदेवी चर्चाभन्दा निकै पर रहेर सामाजिक यर्थाथसँग जुधिरहेका छन । घरमा शौचालयसमेत बनाउनुनपर्ने सामाजिक चेतनाबाट निर्देशित ग्रामीण मधेस आज खुला दिसामुक्त क्षेत्रमा परिणत हुँदा त्यहाँका महिलाको कति योगदान होला हामी कल्पना गर्न सक्छौँ ।
मधेसका बारेमा निर्माण भएको शासकीय दृष्टिकोण आफैँमा विभेदपूर्ण छ । त्यसमा पनि मधेसी महिला अझ मधेसी दलित महिलाका बारेमा खस अहंकारवादी मानसिकता बोकेको शासकीय दृष्टिकोण त झन् विभेदपूर्ण हुने नै भयो । यस्तो परिवेशमा समाज परिवर्तनको अभियानमा मधेसी महिलाले गरेको संघर्ष र योगदानलाई कम आँक्ने, नजरअन्दाज गर्ने र सधैँ पुरानै चस्मा लगाएर पञ्चायतकालीन आँखाले यहाँका महिलालाई हेर्ने नजरिया पूर्णतः गलत र खेदपूर्ण छ । अबका दिनमा मधेसी महिलालाई बिचरा वा अवलाका रूपमा होइन, संघर्षको मैदानमा गोली थाप्न पनि तयार हुने जानकीदेवी मुनेश्वरी र सोनाबतीका रूपमा हेर्न जरुरी छ । समाजका पुरुषवादी सामन्तले दिसा कोच्याउँदा पनि संघर्षको मैदानमा डटिरहने मरनीदेवीका रूपमा बुझ्न जरुरी छ । आफूलाई लागेको सत्य कुरा बोल्न नडराउने उमादेवी सिंहका रूपमा ग्रहण गर्न जरुरी छ ।