प्रदेशमा पर्यटक भित्रिने संख्यामा आएको कमीलाई सबल बनाउन अबलोकन भ्रमण

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
धार्मिक पर्यटनको दृष्टिकोणले ऐतिहासिक महत्व बोकेको भधेश प्रदेश बिबिध पर्यटकिय बिशेषता झल्किएको प्रदेश हो।
यहाँका आठवटै जिल्लामा देखिएका पर्यटकिय सम्भावनाहरुको ठोस योजनासहित पूर्वाधारको खोजी र निर्माणका काम ओझेलमा पर्नाले पर्यटकीय स्थलको सुधार, प्रचारप्रसारमा कमी आएको छ। यसैकारण मधेश प्रदेशमा पर्यटक भित्रिने संख्यामा आएको कमीलाई सबल बनाउन । सोमवार महोत्तरीको बिभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको सुधार र प्रचारप्रसारलाई बिकासगर्ने उदेश्यले नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशले घुमौ मधेश बुझौ प्रदेशको नारालाई मुख्य प्राथमिकतामा राख्दै महोत्तरी जिल्लाभित्र रहेका बिभिन्न पर्यटकिय स्थलको प्रर्बद्धनगर्न अन्तरक्रिया सहितको अबलोकन भ्रमण गरेको छ । नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सकिलअली मियाँको प्रमुख आतिथ्यतामा भएको अबलोकन भ्रमणमा यो जिल्लाको पर्यटकिय स्थलहरुले बिशेष किसिमका बिशेषता झल्काएको देखिएको छ ।

मध्यपाषण युगको हतियार कारखाना

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ३ स्थित पाटुमा सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर जर्मन नागरिक गुडन कर्विन्सले अनुसन्धान गरी पत्ता लगाएकी मध्यपाषण युगको हतियार हतियार कारखाना
महोत्तरीकै महत्वपूर्ण पर्यटकिय स्थाल हो । सो समयमा रातो माटोले पुरिएको अवस्थामा हजारौं मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको कर्विन्सले निष्कर्ष निकालेकी थिइन । जुन युग १० देखि १२ हजार बर्ष पहिलेको मानिन्छ । कर्विन्सले आफ्नो किताब ९ प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७० मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता भियतनामको सभ्यतासँग मिल्दोजुल्दो भएको र भारतिय सभ्यतासँग मेल नखाने पुष्टि गरेकी थिइन । कार्विन्सले किताबमा उल्लेख गरे अनुसार ढुंगा, हड्डी र काठबाट एकातिरको भाग धारिलो बनाएर तयार पारिएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिएको थियो। भेटिएका हतियारहरुको स्वरूप भारतको मध्य पाषण युगसंग मेल नखाने जस्ता थिए । यिनीहरु भियतनाममा भेटिएको जस्तो रहेकोले यांहाका मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।

नेपालमा पहिलो पटक रेकर्ड भएको १२५५ को शक्तिशाली भूकम्पले समेत यस क्षेत्रको चुरे पहाड १० फिट माथी उठेको तथ्यहरु फेला परेका छन । यी विवध कारणले पनि यस ठाँउलाई मधेश कै पुरातात्विक केन्द्रकोरुपमा विकास गर्न सके पर्यटन स्थलको केन्द्र बन्न सक्ने स्थानियहरुको भनाई रहेको छ ।

पञ्चधुरा माई मन्दिर

पूर्वपश्चिम राजमार्गबाट ६ सय ५० मिटर उतरतर्फको वनक्षेत्र छिचोलेर पुगिने महोत्तरीको बर्दिवास नगरपालिका–४ माईस्थानस्थित मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर ऐतिहासिक तथा धार्मिक महात्व बोकेको मधेशकै प्रसिद्ध तिर्थस्थल हो । करिब १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिरमा देशभित्र र भारतको बिहार प्रान्तबाट बाक्लै दर्शनार्थी दर्शनगर्न आउने गरेको मन्दिरका पुजारी बिनोद सिंह बताउछन्।बाँदरसहितका वन्यजन्तु रहेकोअत्यन्त धार्मिक महत्व बोकेको योदेवस्थल मधेश प्रदेश भरिकै मुख्य धार्मिकस्थल मध्येको एक स्थलको रुपमा गनिएको छ ।

कारिक स्थान पडौल

महोत्तरीको बलवा नगरपालिकास्थित पडौलमा रहेको कारिक स्थान कारिक स्थानको मन्दिर महोत्तरीको बर्दिवास स्थित पुर्व पश्चिम राजमार्गबाट बरीब २५ किलोमिटर दश्चिन ,पुर्वमा पर्छ । पडौल स्थानमा लोक देवता कारिक महाराजको पूजा गर्ने गरिन्छ ।
मानिसले चिताएको ईच्छा पूरा हुने बिश्वासमा भाकल गर्न आउने श्रद्धालुहरूकोे समेत यो स्थानमा घुइँचो लाग्ने गर्छ ।
साताको सोमबार र शुक्रबार ३ सय देखि ४ सय बोकाको बलि दिइने यो थानमा भदौ, पुस र चैत महिनाबाहेक सबै महिनामा बलि दिइन्छ । मन्दिरमा यादव जातकै पुजारीले पूजा गर्ने गर्छन् । बलिको बोका काट्नेहरू भने स्थानीयवासी नै हुन्छन् ।
जतिसुकै ठूलो बोका भए पनि पडौलभित्र खाइसक्नुपर्ने धार्मिक बिश्वास रहेको यो मन्दिरमा कारिक महाराजलाई चढाइएको बलिको प्रसाद पडौल सीमानाभित्रै खाने चलन रहेको छ । एक किम्वदन्तीका अनुसार धेरै समय पहिले एक जना मानिसले कारिक महाराजलाई चढाएको बलिको प्रसाद घर लान खोज्दा टायर गाडामा आगो लागी ध्वस्त भएको थियो ।
कुनैपनी पारिवारिक सङ्कट आउनासाथ कारिक महाराजलाई बोका बलि चढाउन भाकल गरिने कारिक स्थानमा बालकको अन्नप्राशन, चूडाकर्म र आरोग्यताका लागि प्रार्थना गर्ने धार्मिक आस्थाको थलो बनेको छ ।

टुटेश्वरनाथ महादेव

महोत्तरीको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक स्थलको रूपमा परिचित टुटेश्वरनाथ मन्दिर पछिल्लो समयमा आएर आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ७ किमी उत्तरतर्फ बर्दिवास नगरपालिका– ५ मा पर्ने पौराणिक एवम् धार्मिक आस्था बोकेको टुटेश्वरनाथ महादेव मन्दिरमा
साउन महिनाको प्रत्येक सोमबारका दिन लाखौ दर्शनार्थीहरू मन्दिरमा जल चढाउनका लागि आउने गर्छन् ।
जिल्लाको प्रसिद्ध धार्मिक एबं पर्यटकिय स्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा भनकल पूरा भएपछि श्रद्धालु काँवर लिएर मन्दिरमा आई लड्डु चढाउछन, सुन–चाँदी दान गरी भौतिक संरचना बनाइदिनेजस्ता भाकल गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

टुटेश्वरनाथ महादेव जस्ता धार्मिक स्थलले टुटेका मन जोड्ने सामाजिक सद्भावको भावनाको केन्द्रको रूपमा रहेकाले यसलाई पर्यटन केन्द्रको रूपमा समेत विकास गर्दै लगिनु पर्ने स्थानीयवासीहरू बताउँछन् ।
मरहा नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थल टुटेश्वरनाथ मन्दिरमा साउनको प्रत्येक सोमबारबाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन मेला भर्नका लागि आसपासका जिल्लालगायत सीमावर्ती भारतीय शहरबाट बर्सेनि हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन् ।

रौजा मजार

महोत्तरीको सदरमुकाम जलेश्वरबाट करिब ११ किलो मिटर उतरतर्फ महोत्तरीको बलवा नगरपालिका ११ धमौरामा पर्ने रौजा मजार सरिफ इस्लाम धर्माबलम्बीहरूका लागि आस्थाको केन्द्र रहेको छ । आफ्नो छुट्टै ऐतिहासिक पहिचान र धार्मिक महत्त्व रहेको रौजा मजार सरिफको इतिहास कारीब ३ सय वर्ष पुरानो रहेको छ ।
आन्तरीक तथा बिदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेको मजारमा भारतको राजस्थानमा पर्ने अजमेरबाट तिन सय बर्ष पहिले ३ जना वली अर्थात् अल्लाहका भक्तहरू बाबा गदाअली शाह, बाबा रहम अली शाह र बाबा वहार अली शाह फकिरको रूपमा त्यहाँ आएको बताइन्छ ।

मिथिला क्षेत्रमा बसोवास गर्ने मुस्लिम सुमदायलाई धार्मिक शिक्षा तथा धर्मसम्बन्धी जानकारी दिने उद्देश्यले भारतको राजस्थानस्थित बाबा खाजा अजमेरीले उनिहरूलाई पठाएको हुन सक्ने इस्लाम धर्माबलम्बीहरूको भनाइ छ ।
तत्कालीन समयमा चौतर्फी जङ्गलले नै भरिएरको उक्त स्थानमा सानो झुपडी बनाएर ती वलीहरू त्यहाँ बसोवास गरेका थिए । अल्लाहको इवादत (तपस्या)मा तल्लीन रहने उनीहरूले लामो समयसम्म त्यहाँ खेतीपातीसमेत गर्ने गरेको इतिहास छ ।

बाबा गदा अली शाहको नाममा ४५ बिघा र बाबा रहम अली शाहको नाममा ५२ बिघा जग्गा रहेको थियो । बाबा गदा अली र बाबा रहम अलीको देहान्दत पश्चात त्यो सवै जग्गाको रेखदेख तथा भोगचलन गर्ने जिम्मेवारी बाबा रहम अलीले पाए ।

त्यसको केही समय पश्चात तत्कालीन प्रशासनले मालपोतवापतको राजस्व असुलीका लागि रौजामा आफ्ना सिपाही खटाएका थिए । तर, बाबा वाहर अली शाहले आफूसँग पैसा नभएको, जोगी सन्तले तिर्न नक्ने भन्दै राजस्व छोडिदिन सिपाहीहरूसँग आग्रह गरे ।

तर, सिपाहीले राजस्व असुल गर्न महराजकै निर्देशन भएकाले छाड्न नमिल्ने अडान राखेपछि बाबा वाहर अली शाहले राजस्ववापत घरमा रहेका २ वटा गोरु लैजाऊ भनेर सिपाहीहरूसँग आग्रह गरे ।

गोरु खोल्न घरमा प्रवेश गरेका सिपाहीहरू बाघ देखेपछि भागेका थिए अर्थात् बाबाले बाघलाई गोरुको रूपमा प्रयोग गर्दै आएका थिए ।

आफूसँग भएको घटनाकारे सिपाहीहरूले नेपालका तत्कालीन राजा गिर्वाणयुद्ध विरविक्रम शाहलाई सुनाएपछि उनी पनि आश्चर्यचकित भए । गोरुको रूपमा बाघ प्रयोग गर्ने कस्तो फकिर होला ? भनेर उनलाई विश्वासै गर्न कठिन भयो ।

तर, सिपाहीहरूले आफूले बाघ नै देखेको र फकिरले बाघ नै गोरुको रूपमा प्रयोग गर्दै आएको अरूबाट पनि जानकारी पाएको बताए ।
यस्तो कुरा सुनेर राजा गिर्वाणलाई त्यो फकिरसँग भेट्ने इच्छा जागेर आयो । उनले आफ्ना सिपाही पठाएर बाबालाई काठमाडौंमै बोलाउन निर्देशन दिए । तर, बाबाले काठमाडौं जानबाट अस्वीकार गरिरहे ।

पटक पटकको प्रयासपछि राजा गिर्वाणले बाबा वाहर अलीलाई काठमाडौंमै बोलाएर वास्तविक जानकारी लिएका थिए । अलीबाट प्रभावित राजा गिर्वाणले वि.सं. १८७५ मा चिरागवती दिनलाई तथा फकिर फुर्का (जोगी, सन्त) खानपानको व्यवस्था गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई ससिम रौजा मौजे ढढर दान बकसको रूपमा अलीलाई प्रदान गर्न आदेश दिएका थिए ।

थापाले दानबकसको रूपमा दिएको जग्गाको प्रमाण अहिले पनि मजार समितिसँग सुरक्षित रहेको पाईन्छ।
राजा स्वयम् बाबाबाट प्रभावित भएपछि स्थानीय स्तरमा बाबाको महत्त्व झनै बढेर गयो । पछि बाबा वाहर अली शाहको देहान्त भयो । उनको देहान्तपछि इवादत गर्ने स्थानमै इस्लामिक परम्पराअनुसार उनको अन्तिम दाहसंस्कार गरियो ।

पछि स्थानीयवासीले कुनै समस्यामा पर्दा बाबालाई सम्झिँदा वा भाकल गर्दा सजिलै समाधान हुन थालेपछि एक गाउँबाट अर्को गाउँ हुँदै बाबाको महिमाबारे उक्त क्षेत्रमा चर्चा हुँदै गयो । बाबाप्रति श्रद्धा राख्ने भक्तजन नेपालमा मात्र नभई भारतका विभिन्न स्थानमा रहेका र बाबाको नाम अल्लाहको शक्तिशाली वलीको रूपमा लिने गरिएको छ ।

बाबाको दरबारमा आएर भाकल गरेबमोजिमको वर प्राप्त हुन थालेपछि स्थानीयले मजार लगाउने निर्णय गरे । समितिद्वारा अहिले पनि मजार सञ्चालनमा छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट मजारमा दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् ।

खासगरी सोमबार र बिहिबार बढी सङ्ख्यामा श्रद्धालु भक्तजन यहाँ आउने गरेका छन् । भाकल गरेबमोजिम श्रद्धालु भक्तजनहरूले कुखुरा, बोकासमेतको बलि दिने गर्छन् । कसैले बाबाको मजारमा चादरसमेत चढाउँछन् ।

प्रत्येक वर्ष चैत महिनामा बाबाको मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रूपमा गर्ने गरिन्छ । उक्त उर्षमा २ लाखभन्दा बढी भक्तजनहरूको सहभागिता हुने गरेको मजार समितिको भनाइ छ ।

उक्त अवसरमा श्रद्धालु भक्तजनहरूले करिव १० हजार बोका, १५ हजारभन्दा बढी कुखुराको बलिसमेत दिन्छन् । त्यही मासु पकाएर आफ्ना इष्ट मित्रलाई समेत खुवाउने गर्छन् ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...