आज्ञा खबर
महोत्तरी
आज ऋषि पञ्चमी, नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गरी मनाईदैछ। आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतीक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन ।
स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।
पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने गर्लछन । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख बनाउन खोजेपनी श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक र नारीहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो ।
ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास । नारीलाई रजस्वालाको दिनहरुलाई चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।
शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको छ । गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छ।
महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरण रहोस् नारीहरुको रजस्वालाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट हुरु हुन्छ ।





































