बर्दिबास सरकारी अस्पातलमा गत वर्ष नै दुई सेट भेन्टिलेटरको उपकरण आएर थन्कियो । थन्किनुको कारण थियो– जनशक्ति र भौतिक पूर्वधारको अभाव । अहिले फेरि बर्दिबास सरकारी अस्पताललाई स्वास्थ्य विभागले एउटा अर्को आइसीयुसहितको भेन्टिलेटर दिएको छ । त्यो भेन्टिलेटरलाई तुरुन्त संचालन गर्न भौतिक पूर्वधार र जनशक्तिको उस्तै समस्या छ ।
सर्प दंशबाट घाइते भएकाहरु भेन्टिलेटरको अभावमा अकालमै ज्यान गइरहेको छ । तर, बर्दिबासमा भेन्टिलेटर संचालन गरेर सेवा दिएर नागरिकको ज्यान बचाउनुको साटो भेन्टिलेटरमाथि राजनिति भइरहेको छ ।
गत वर्ष बर्दिबासमा एक जना १६ वर्षिय विद्यार्थीको सर्पको डसाइबाट मृत्यु भएपछि सरोकारवाला निकायले निक्कै ध्यानाकर्षण जनाए । विष फैलदै जाँदा श्वासप्रश्वासमा समस्या बनेर अकालमै मृत्युवरण गरेका मनिष सुनारको मृत्यु नै समबन्धित निकायको ध्यानाकर्षणको मुख्य कारक बन्यो ।
उपचारमा सग्लन चिकित्सकहरुले भेन्टिलेटरको आवश्यकता भएको सुझाएपछि संघिय सांसद तथा महोत्तरी क्षेत्र नं. १ का जनप्रतिनिधि गिरिराजमणि पोखरेलले आफैले पटक–पटक स्वास्थ्य मन्त्रालयमा चाँसो राखे ।
जसको परिणामस्वरूप स्वास्थ्य मन्त्रालयले बर्दिबास नगरपालिकाको लागि भेन्टिलेटर प्रदान गर्ने २०७८ मा नै सहमति जनाएको थियो ।
भेन्टिलेटर राख्ने ठाउँ पनि नभएको र दक्ष प्रावधिक समेत नभएको अवस्थामा अघिल्लो स्थानिय सरकारले त्यसको व्यवस्थापनमा लाग्दा–लाग्दै निर्वाचन नजिकियो । त्यसपछि उक्त विषयले अहिले फेरि चर्चा पाएको छ ।
१५ साउन २०७९ अर्थात त्यसको ठिक एक वर्षपछि बर्दिबासमा सोही प्रकृतिको घटना घटयो । यसभन्दा अगाडीपनि सर्पदशं उपचार केन्द्रमा २ जनाको मृत्यु भईसकेको थियो तर १६ साउनमा घटेको घटनापछि सामाजिक संजाल र जनस्तरबाट भेन्टिलेटरको व्यवस्थापनमा चर्को दवाव बढयो ।
बर्दिवास नगरपालिका–४ स्थित माइस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानध्यापक युवराज श्रेष्ठको सर्प दंशका कारणले श्वासप्रश्वासमा नै समस्या भएर ज्यान गएपछि भेन्टिलेटरको व्यापक खोजी भयो ।
त्यसपश्चात बर्दिबास नगरपालिकाबाट सम्पूर्ण प्रक्रिया पूरा गरि काठमाडौं पुगेर १ थान भेण्टिलेटर बुझेर फर्कियो ।
जस लिने होडबाजी
नगरपालिकाले पत्र पठाउँदैमा केही हँुदैन सो को विषयमा विभिन्न प्रक्रिया छन् । खरिद गर्नेदेखि अनेकौ प्रक्रियागत ढंगले हस्तान्तरण गर्न विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ ।
तर, यतिवेला सामाजिक संजालमा नगरपालिकाको दवावमा नै मन्त्रालयले उक्त भेन्टिलेटर तत्कालै प्राप्त गरेको हो भन्ने स्याल–हुंइया नै चलेको छ ।
अघिल्लो स्थानिय सरकारका मेयर विदुरकुमार कार्कीको अथक प्रयास, संघिय सांसद गिरिराजमणि पोखरेलको महत्वपूर्ण पहलकदमीलाई क्रेडिट नै नदिइ मेयर प्रह्लाद कुमार क्षेत्रीले विशेष पहल गरेर भेन्टिलेटर ल्याएको भन्दै सामाजिक संजालमा टिक्काटिप्पणी चलिरहेको छ ।
भेन्टिलेटर संचालनका लागि प्रावधिक व्यवस्थापन हुन नसक्दा बर्दिबास सरकारी अस्पतालमा यसअघि आएका २ वटा भेन्टिलेटर समेत थन्केर बसेका छन् । भेन्टिलेटर ल्याइएको भन्दै प्रचारप्रसारमा व्यवस्त स्थानिय सरकारले अस्पतालको प्रावधिक व्यवस्थापनमा कसरी ध्यान देला भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
एउटा भेण्टिलेटरको लागी यति धेरै प्रचारप्रसार गर्ने स्थानिय सरकारले अनेकौ थाती रहेका कामहरुलाइ कसरी पूरा गर्ला भन्ने अहिले नगरमा आम मानिसको चासो बनेको छ ।
वास्तविक के हो ?
सासंद तथा पूर्वमन्त्री पोखरेलले सर्पको टोकाइबाट १६ वर्षिय किशोरको मृत्यु भएपछी भेण्टिलेटरको पटक–पटक माग गरेका थिए ।
२०७८ सालमा नै पुर्व नगरप्रमुख बिदुर कार्की सहित नेता पोखरेल समबन्धित निकायमा गए र भेण्टिलेटर खरिद गरेर प्रदान गर्ने सहमती भएको थियो ।
‘हामीलाई यसअघी नै मागपत्र आएको थियो र सोही प्रक्रियाअनुसार नै उक्त भेण्टिलेटर प्रदान गरेका हौं’, स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणी पोखरेलले भने, ‘कसैले पत्र पठाउँदैमा तत्काल दिने भने हुँदैन विभिन्न चरणहरु पार गरेर बल्ल दिन्छौं ।’
‘आवश्यक्तालाई हेरेर स्वास्थ्य उपकरण दिने स्वास्थ्य मन्त्रालयको नियमित प्रक्रिया नै हुने र त्यस्को लागी स्टोरमा छ भने प्रक्रिया पुरा गरेर दिने नत्र खरिद गरेर दिने गरिन्छ’ उनको भनाइ छ ।
तर बर्दिबासको लागी यसअघि नै माग भएको र नेता पोखरेलले पटक–पटक झक्झक्याएको कारणले सम्भव भएको सहसचिव पोखरेलले भने ।
भेण्टिलेटर संचालन गर्न कत्तिको चुनौती छ ?
भेन्टिलेटर आइसियु सेटअपमा हुने भएकाले बर्दिबासका नगर प्रमुख प्रह्लाद कुमारक्षेत्रीले ल्याएका भेन्टिलेटरसहित बर्दिबास सरकारी अस्पतालमा ३ वटा भएका छन् ।
३ वटा भेन्टिलेटरको लागी एमजिडिपी चिकित्सक, ३ जना भन्दा बढी मेडिकल अफिसर र ४ देखि ५ जना नर्सको आवश्यकता पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
भेन्टिलेटर राखिसकेपछि ल्यावको स्त्तरोन्नतिदेखि अनेकौ आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने बर्दिबासका पूर्व निमित्त मेडिकल सुपरिटेन्ड सुनिल दाहाको भनाई छ ।
अहिलेको जनशक्तिलाई परिचालन गरेर काम गर्न सकिने भएतापनि त्यसबाट पर्याप्त हुन नसक्ने चिकित्सकहरुको सुझाव छ । साभार द, पब्लिक टुडे





































