‘गाँजा प्रतिबन्ध फुकुवा गरे व्यापार घाटा कम गर्न सकिन्छ’:नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्ल

[sharethis-inline-buttons]

काठमाडौं –

नेपालमा गाँजाको उत्पादन बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । नेपालको कानुनले गाँजालाई लागु पदार्थको रूपमा परिभाषित गर्दै यसमा रोक लगाएको हो ।तर, गाँजाको प्रयोगमा प्रतिबन्ध लगाए पनि विभिन्न पर्वहरूमा भगवानको प्रसादको रूपमा लिँदै खुल्लमखुल्ला रूपमा बिक्री गरेको पाइन्छ । शिवरात्रिजस्ता पर्वहरूमा गाँजाको सेवन धेरैले गरेको देख्न सकिन्छ । यो दिन प्रतिबन्ध लगाएको गाँजाको प्रयोग गर्नेलाई न कारबाही हुन्छ न रोक लगाइन्छ ।

कतिपय देशले गाँजालाई वैधानिकता दिएका पनि छन् । गाँजालाई औषधिमा रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले पनि देखाएको छ । नेपालमा पनि गाँजालाई वैधानिकता दिनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् ।
अध्यक्ष मल्ल भन्छन्, ‘नेपालमा गाँजा उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । गाँजाबाट धेरै फाइदाहरू लिन सकिन्छ । गाँजाबाट औषधिदेखि कपडासम्म बन्छ । त्यसैले नेपालले पनि गाँजालाई वैधानिकता दिनुपर्छ ।’

उनका अनुसार नेपालको पश्चिम क्षेत्रको जङ्गलहरूमा धेरै गाँजा पाइन्छ । युएनमा पनि बहुमतले गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्छ भन्ने छ तर नेपालमा भने गाँजा निर्यात गर्न नपाउने व्यवस्था छ । मल्ल भन्छन्, ‘औषधिदेखि कपडा उत्पादनसम्ममा समेत गाँजा प्रयोग हुन्छ । क्यान्सर रोगको उपचारमा पनि गाँजा काम लाग्छ । गाँजाको बोक्रा र जराबाट विभिन्न कपडाहरू बन्छ । नेपालमा सही रूपमा गाँजा व्यवस्थापन भएन ।’

केही दिन अघि मात्रै चेम्बरले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाँजाका धेरै फाइदाहरू रहेका कारण यसलाई वैधानिकता दिनुपर्ने माग गरेको थियो । अध्यक्ष मल्लले गाँजा खेतीलाई कानुनी मान्यता दिई सञ्चालनमा ल्याउन सरकारलाई सुझाव समेत दिएको बताए ।सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएर निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।

उनले भने, ‘गाँजा निर्यातजन्य कुरा हो । यसलाई कानुनी मान्यता दिएमा पक्कै पनि व्यापार घाटा कम गर्न सकिन्छ । लागु औषधको रूपमा निर्यात नगरी औषधि र कपडाको रूपमा निर्यात गर्न सकिन्छ ।’ साथै उनले अहिले बजारमा गाँजाबाट बनेका कपडाहरूको माग रहेको बताए ।

उनका अनुसार हाम्रो देश प्रशस्त रूपमा गाँजा हुने ठाउँ हो । पश्चिम क्षेत्रको पहाडको जङ्गलहरूमा जङ्गली गाँजाहरू पनि धेरै छ । यसलाई प्रवर्द्धन गर्नुपर्छ । ‘सरकारले नीति नियम बनाएर निर्यात गर्नुपर्छ । गाँजा नष्ट गरेर फालेर बस्नुभएन । यसलाई प्रवर्द्धन गरेर निर्यात गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भने ।