आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले आगामी श्रावण महिनादेखि नगरक्षेत्रभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा भोगचलनको आधारमा जग्गाधनी प्रमाणस्वरूप सेतो पुर्जा (निस्सा) वितरण गर्ने तयारी गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस कार्यलाई प्राथमिकतामा राख्दै वितरण प्रक्रिया अघि बढाउने जनाएको छ।
भूमि सम्बन्धी समस्या समाधान आयोगसँग २०७२ सालमा भएको सम्झौताअनुसार संकलन गरिएको विवरणमा बर्दिवास नगरपालिकाभित्र भूमिहीन दलित ४ सय९५, भूमिहीन सुकुम्बासी ९ सय६९ र अव्यवस्थित बसोबासी ८ हजार २ सय ३ गरी कुल ९ हजार ६ सय६७ घरधुरी रहेका छन्। त्यसैगरी तत्कालीन समयमा गरिएको नापजाँच तथा नक्साङ्कनका आधारमा नगरपालिकाका १४ वटै वडामा २ हजार ९ सय ३६ बिघा जग्गा नाप नक्सा भएको थियो।
नगरपालिकाले अब त्यही विवरण र वास्तविक भोगचलनको अवस्थालाई आधार मानेर सम्बन्धित व्यक्तिलाई सेतो पुर्जा वितरण गर्ने तयारी गरेको हो।
सेतो पुर्जा (निस्सा) भनेको के हो ?
सेतो पुर्जा अथवा निस्सा भनेको कुनै व्यक्ति वा परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गामा उसको दाबी रहेको प्रमाणित गर्ने प्रारम्भिक सरकारी कागजात हो। यो अन्तिम जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) भने होइन, तर लालपुर्जा प्राप्त गर्ने प्रक्रियाको महत्वपूर्ण आधार कागजात हो।
यसले सम्बन्धित व्यक्ति वा परिवारले उक्त जग्गा लामो समयदेखि प्रयोग तथा भोगचलन गर्दै आएको तथ्यलाई राज्यले स्वीकार गरेको संकेत गर्दछ।
सेतो पुर्जा किन आवश्यक छ ?
नेपालका धेरै स्थानमा पुस्तौंदेखि बसोबास गर्दै आएका नागरिकसँग जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने कागजात छैन। उनीहरू ऐलानी, सार्वजनिक वा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका कारण विभिन्न सरकारी सेवा तथा विकास योजनाबाट समेत वञ्चित हुने गरेका छन्।
सेतो पुर्जा वितरण भएपछि त्यस्ता नागरिकको विवरण सरकारी अभिलेखमा व्यवस्थित हुने, वास्तविक लाभग्राही पहिचान गर्न सहज हुने तथा जग्गा व्यवस्थापन प्रक्रियालाई गति पुग्ने अपेक्षा गरिएको छ।
प्रश्न : सेतो पुर्जा (कसले पाउँछन् ?
उत्तर : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा पहिचान भई सम्बन्धित निकायमा विवरण दर्ता भएका र भोगचलन प्रमाणित भएका व्यक्ति वा परिवारले प्राप्त गर्न सक्छन्।
प्रश्न : सेतो पुर्जा प्राप्त गर्न किन आवश्यक छ ?
उत्तर : आफ्नो बसोबास तथा भोगचलनलाई कानुनी रूपमा प्रमाणित गर्न, भविष्यमा जग्गाको स्वामित्व प्राप्त गर्ने प्रक्रिया सहज बनाउन तथा सरकारी अभिलेखमा आफ्नो दाबी सुरक्षित गर्न आवश्यक हुन्छ।
प्रश्न : सेतो पुर्जा पाएपछि तत्काल लालपुर्जा पाइन्छ ?
उत्तर : पाइँदैन। सेतो पुर्जा लालपुर्जा प्राप्तिको आधार चरण हो। आवश्यक कानुनी प्रक्रिया, प्रमाणीकरण र निर्णयपछि मात्र अन्तिम रूपमा लालपुर्जा वितरण गरिन्छ।
प्रश्न : सेतो पुर्जा पाएपछि के–के फाइदा हुन्छ ?
उत्तर :
- जग्गा भोगचलनको सरकारी प्रमाण प्राप्त हुन्छ।
- भविष्यमा लालपुर्जा प्राप्त गर्ने आधार तयार हुन्छ।
- बसोबासको कानुनी पहिचान स्थापित हुन्छ।
- सरकारी अभिलेखमा नाम दर्ता हुने प्रक्रिया सहज हुन्छ।
- भूमि सम्बन्धी विवाद समाधानमा प्रमाणका रूपमा उपयोग हुन सक्छ।
- राज्यका विभिन्न भूमि व्यवस्थापन कार्यक्रमको लाभ लिन सहज हुन्छ।
- स्थानीय तह तथा सम्बन्धित निकायसँग आफ्नो अधिकार दाबी गर्न आधार प्राप्त हुन्छ।
प्रश्न : सेतो पुर्जा र लालपुर्जामा के फरक छ ?
उत्तर : लालपुर्जा जग्गाको पूर्ण स्वामित्व प्रमाणित गर्ने अन्तिम कानुनी प्रमाणपत्र हो भने सेतो पुर्जा भोगचलन तथा दाबीको प्रारम्भिक प्रमाण मात्र हो।
बर्दिवासका लागि महत्वपूर्ण कार्यक्रम
बर्दिवास नगरपालिकाभित्र रहेका हजारौं भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवार वर्षौंदेखि जग्गाको कानुनी स्वामित्वको प्रतीक्षामा छन्। नगरपालिकाले श्रावण महिनादेखि सुरु गर्न लागेको सेतो पुर्जा वितरण कार्यक्रमले उनीहरूको भूमि अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।
गरपालिकाको तथ्यांकअनुसार कुल ९ हजार ६६७ घरधुरी यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने सम्भावना रहेको छ। १४ वटै वडामा नाप नक्सा भइसकेको २ हजार ९३६ बिघा क्षेत्रफलभित्रका वास्तविक भोगचलनकर्ताको पहिचान गरी निस्सा वितरण गरिने भएकाले भूमि व्यवस्थापन र स्वामित्व निर्धारण प्रक्रियामा समेत यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीका लागि यो कार्यक्रम केवल एउटा कागज वितरणको विषय मात्र नभई पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गामा आफ्नो अधिकार स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
