निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका भूमिहीन, दलित भूमिहीन, ऐलानी तथा अव्यवस्थित बसोबासीलाई सेतो पुर्जा (निस्सा) वितरणलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तथा निती कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार सम्पन्न नगरपालिकाको १८औँ नगर अधिवेशनमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री ले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ११ करोड ६९ लाख ५ सय रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै मधेश प्रदेशकी श्रम तथा यातायात म न्त्री शारदादेवी थापाले आफू बर्दिवाससँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति भएकाले नगरपालिकाको विकास, नीति तथा कार्यक्रमप्रति विशेष चासो रहेको बताइन्। स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएका योजना प्रभावकारी कार्यान्वयन हुन सके नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने उनको भनाइ थियो। उनले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहनुपर्नेमा जोड दिइन्।
नगर प्रमुख क्षेत्रीका अनुसार बजेटले भूमिसम्बन्धी समस्या समाधानलाई मुख्य तथा विशेष प्राथमिकतामा राखेको छ। यससँगै स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, सहकारी, कृषि तथा पशुपन्छी विकास, सडक तथा यातायात, विद्युत, सिँचाइ तथा भूमि व्यवस्थापन, वातावरण संरक्षण, सरसफाइ तथा विपद् व्यवस्थापनका क्षेत्रलाई पनि प्राथमिकतामा समेटिएको छ।
त्यसैगरी कला तथा संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, लागूऔषध नियन्त्रण तथा रोकथाम तथा सुशासन प्रवर्द्धनलाई समेत बजेटका कार्यक्रमका रूपमा अघि सारिएको नगरपालिकाले जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटले नगरवासीका आधारभूत आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सामाजिक न्याय र समावेशी विकासलाई केन्द्रमा राखेको नगर प्रमुख क्षेत्रीले बताए। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान नगरपालिकाको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उनले सेतो पुर्जा वितरणको प्रक्रिया आगामी श्रावण महिनाभित्रैबाट तीव्र रूपमा अघि बढाइने जानकारी दिए।
बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रको सन्तुलित विकासमा विशेष जोड दिएको जनाएको छ। नगरसभामा प्रस्तुत बजेटमाथि आवश्यक छलफल र प्रक्रियापछि कार्यान्वयनमा लैजाने तयारी गरिएको नगरपालिकाले जनाएको छ।
