आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुराकी २५ वर्षीया रिंकु कुमारी सिंह शुक्रबार राति आफ्नै घरको दोस्रो तल्लामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार मृतक रिंकु मूलतः गौशाला नगरपालिका–११ कान्तिबजार पररियाकी हुन्। उनको करिब पाँच वर्षअघि बर्दिवास–१२ बिजलपुराका शशी महतोसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो।
स्थानीय स्रोतका अनुसार शशी महतोले करिब एक वर्षअघि लुकीछिपी दोस्रो विवाह गरेका थिए। दोस्रो श्रीमतीलाई घरबाहिर अन्यत्र लुकीछिपी राखिएको विषयलाई लिएर रिंकु र उनका श्रीमानबीच पटक–पटक विवाद हुने गरेको बताइएको छ।
घटनापछि रिंकुको माइती पक्षले उनको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
घटनापछि स्थानीयवासी र रिंकुका माईतीपक्ष आक्रोशित बनेका कारण केही समय स्थिति तनावग्रस्त भएको थियो। स्थिति नियन्त्रणमा लिन अस्थायी प्रहरी पोस्ट हातिलेट, इलाका प्रहरी कार्यालय बर्दिवास तथा शस्त्र प्रहरी बेस क्याम्प बर्दिवास (पशुपतिनगर) बाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
स्थिति नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तारा बहादुर तामाङसहित केही स्थानीय सामान्य घाइते भएका छन्। आक्रोशित भीडले मधेश प्रदेश ०४–००१ च ००३१० नम्बरको कारमा समेत तोडफोड गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृत्युको वास्तविक कारण अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
