आज्ञा खबर
लालबन्दी
रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता धेरै नेपाली युवाको साझा समस्या बनिरहेका बेला सर्लाहीको लालबन्दीका सन्त लोप्चनले भने स्वदेशमै मेहनत र सीपको प्रयोग गरेर राम्रो आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। लालबन्दी नगरपालिका–२ जुटपानीका ५७ वर्षीय लोप्चनले विगत १४ वर्षदेखि जैविक तथा गँड्यौला मल उत्पादन गर्दै आफ्नो परिवारको जीविकोपार्जनसँगै व्यवसायलाई समेत विस्तार गरिरहेका छन्।
लोप्चनले सञ्चालन गरेको ‘लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट’ बाट उत्पादन हुने मल अहिले सर्लाहीसहित मधेश प्रदेशका विभिन्न जिल्ला र काठमाडौं उपत्यकासम्म पुग्ने गरेको छ। २५ किलोको बोरामा प्याक गरेर बिक्री गरिने मलको माग बढ्दै गएपछि उत्पादनले माग धान्न कठिन भइरहेको उनको भनाइ छ।
उनका अनुसार सुरुमा गँड्यौला मलको बजार बनाउन निकै चुनौती थियो। किसानहरू रासायनिक मल वा भारतबाट ल्याइने अन्य सामग्री प्रयोग गर्न अभ्यस्त भएकाले नयाँ उत्पादनप्रति विश्वास जगाउन समय लागेको थियो। त्यसबेला उनले आफ्नै खर्चमा किसानका खेतसम्म मल पुर्याएर प्रयोग गर्न आग्रह गरेका थिए।
खेतीमा सकारात्मक परिणाम देखिन थालेपछि भने किसान आफैँ मल खोज्दै आउन थालेको लोप्चन बताउँछन्।
‘पहिला किसानलाई बुझाउन धेरै समय लाग्यो। खेतमा प्रयोग गरेर राम्रो परिणाम देखिएपछि अहिले माग आफैँ आउँछ,’ उनले भने।
लालबन्दी आलु, प्याज, काउली र टमाटरलगायत तरकारी उत्पादनका लागि परिचित क्षेत्र भएकाले पनि जैविक र गँड्यौला मलको बजार विस्तार गर्न सहज भएको उनको अनुभव छ। अहिले व्यावसायिक तरकारी उत्पादकसँगै नर्सरी सञ्चालक, घरमा बगैँचा सजाउनेहरू तथा अन्नबाली उत्पादन गर्ने किसानले समेत यस्तो मल प्रयोग गर्न थालेका छन्।
लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रबाट गँड्यौला तथा जैविक मल उत्पादनसम्बन्धी सातदिने तालिम लिएपछि व्यवसाय सुरु गरेका थिए। तालिमपछि उनले प्रारम्भिक रूपमा करिब एक हजार गँड्यौला पाए। त्यहीबाट सुरु भएको उत्पादन अहिले नियमित आम्दानीको स्रोत बनेको छ।
उनको फर्मबाट उत्पादित मल काठमाडौं, ललितपुर, भक्तपुरसँगै धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका विभिन्न एग्रोभेटमा बिक्री हुने गरेको छ। एउटा बोरामा २५ किलो मल हुन्छ र त्यसको मूल्य ३२५ रुपैयाँ तोकिएको छ।
लोप्चनका अनुसार उत्पादन बढी भएका बेला महिनामा दुई ट्रकसम्म मल काठमाडौं पठाउने गरिएको थियो। अहिले औसतमा महिनामा एक ट्रक मल काठमाडौं जाने गरेको छ। एउटा ट्रकमा करिब ४०० बोरा मल पठाइन्छ।
यस व्यवसायबाट उनले वार्षिक ४० देखि ४५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएका छन्। खर्च कटाएर वार्षिक करिब २० देखि २२ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको दाबी छ।
‘मेहनत गर्ने हिम्मत र हातमा सीप भयो भने एक–दुई लाख कमाउनकै लागि विदेश जानुपर्दैन,’ लोप्चनले भने, ‘आफ्नै ठाउँमा काम गर्न सके परिवारसँगै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ।’
लोप्चनका लागि यो व्यवसाय केवल आम्दानीको माध्यम मात्र बनेको छैन। यही व्यवसायबाट उनले आफ्ना छ सन्तानको पालनपोषण र शिक्षादीक्षा गराएका छन्। दुई छोरालाई विदेश पठाउन आवश्यक रकमसमेत यही व्यवसायबाट जुटाएको उनी बताउँछन्। अहिले पनि परिवारका सदस्यको खर्च धान्न यही व्यवसायमा निर्भर छन्।
फर्मको काममा लोप्चन र उनकी श्रीमतीसँगै चार जना मजदुर नियमित रूपमा संलग्न छन्। यसरी व्यवसायले परिवारको आयस्रोत बढाउनुका साथै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ।
काठमाडौंमा किराना पसल सञ्चालन गर्दा व्यापारमा समस्या आएपछि आर्थिक संकटमा परेका लोप्चन त्यसपछि गाउँ फर्किएका थिए। गाउँमा किसान समूह बनेको र कृषि ज्ञान केन्द्रका कर्मचारीहरू बीउबिजन तथा कृषि प्रविधिसम्बन्धी जानकारी दिन आउने गरेपछि उनी कृषि क्षेत्रमा आकर्षित भएका थिए। त्यही क्रममा प्राप्त तालिमले उनलाई जैविक तथा गँड्यौला मल उत्पादनतर्फ अघि बढायो।
मल उत्पादनका लागि गाउँघर तथा वन क्षेत्रमा खेर जाने पातपतिङ्गर, पराल, वनस्पतिजन्य पदार्थ र गोबर प्रयोग गरिन्छ। गँड्यौलालाई जैविक पदार्थ खुवाएर तयार भएको मल छानेर प्याकिङ गरी बजारमा पठाउने गरिएको छ।
लोप्चनका अनुसार एक ट्रेलर गोबर खरिद गर्दा करिब तीन हजार रुपैयाँ र त्यसको ढुवानी तथा मजदुर खर्चमा थप १५ सय रुपैयाँ खर्च हुन्छ। कम लागतमा उत्पादन गर्न सकिने भएकाले यस व्यवसायमा राम्रो प्रतिफल प्राप्त हुने उनको अनुभव छ।
पहिले गँड्यौला बिक्रीबाट समेत आम्दानी गर्दै आएका लोप्चनले अहिले भने गँड्यौला बिक्री रोक्दै मल उत्पादनमा ध्यान केन्द्रित गरेका छन्। गँड्यौला बिक्री गर्दा मल उत्पादनका लागि आवश्यक संख्या घट्ने भएकाले यस्तो निर्णय गरेको उनले बताए। उनका अनुसार गँड्यौला प्रतिगोटा दुई रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
कृषि प्राविधिक सुरज खनालका अनुसार जैविक तथा कम्पोष्ट मलको प्रयोगले माटोको उर्वराशक्ति कायम राख्न सहयोग गर्छ। लामो समयसम्म रासायनिक मलको अत्यधिक प्रयोग गर्दा माटोको उत्पादन क्षमता प्रभावित हुन सक्ने भएकाले जैविक मलको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ।
लोप्चनको अनुभवले गाउँमै उपलब्ध स्रोतसाधन, कृषि अवशेष र पशुजन्य पदार्थको सदुपयोग गरेर पनि रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने देखाएको छ। उनको व्यवसाय अहिले परिवार धान्ने माध्यम मात्र नभई विदेश पलायनको विकल्पका रूपमा स्थानीयस्तरमै गर्न सकिने उद्यमको उदाहरणसमेत बनेको छ।
