पर्यटकको बसाइ लम्ब्याउने गरी जनकपुरधाममा पर्यटन पूर्वाधार विस्तार गरिने

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेश सरकारले जनकपुरधाम आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले पर्यटनसम्बन्धी आवश्यक पूर्वाधार निर्माण तथा धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण र स्तरोन्नतिलाई प्राथमिकता दिने भएको छ।

जनकपुरधामस्थित श्रीराम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताए। उनले यहाँ रहेका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्दै जनकपुरधामलाई व्यवस्थित र नमुना पर्यटकीय सहरका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक संरचना निर्माणमा जोड दिने जानकारी दिए।

जनकपुरधामलाई स्वच्छ, हराभरा र पर्यटकमैत्री सहर बनाउन प्रदेश सरकारको सहयोग र प्रतिबद्धता निरन्तर रहने मुख्यमन्त्री यादवले बताए। उनका अनुसार निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशाला सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्थापन गरिएको छ भने पर्यटक आकर्षित गर्ने उद्देश्यले रामजानकी विवाहमण्डपको स्तरोन्नतिको कामलाई समेत अघि बढाइएको छ।

त्यस्तै, जनकपुरधाममा रामायण स्पिरिचुअल पार्क निर्माणका लागि प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए। पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको महागङ्गा आरतीलाई थप व्यवस्थित र भव्य बनाउने योजना प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री यादवले बताए।

उनले विगतको तुलनामा जनकपुरधामको स्वरूपमा सुधार आएको उल्लेख गर्दै आगामी दिनमा सहरलाई अझ स्वच्छ, हराभरा र व्यवस्थित बनाउन प्रदेश सरकारले स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा स्थानीय क्लब तथा सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले जनकपुरधामको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

ठाकुरले जनकपुरधाममा रहेको ५२ कट्ठा ७२ धुर क्षेत्रफलको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकारले विशेष बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याए। धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

श्रीराम युवा कमिटीका नवनिर्वाचित अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री वीरेन्द्र सिंह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहलगायतको उपस्थिति थियो। कार्यक्रममा नवनिर्वाचित कमिटीका पदाधिकारीहरूलाई शुभकामना तथा बधाई दिइएको थियो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...