आज्ञा खबर
जनकपुरधाम
धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा रहेका एक पुरुषको मृत्यु भएपछि घटनालाई लिएर आफन्तले कुटपिटको आरोप लगाएका छन्।
शनिबार साँझ गणेशमान चारनाथ नगरपालिका–४ निवासी करिब ३५ वर्षीय मजिबुल राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार राइनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शरीरमा निलडाम देखिएको प्रारम्भिक विवरण सार्वजनिक भएपछि घटनाबारे थप आशंका उत्पन्न भएको छ। प्रहरीले भने मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुने जनाएको छ।
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार मृतक राइनको शवको पोस्टमार्टम भइरहेको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।
यसैबीच, घटनापछि मृतकका आफन्तले राति सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले सुधार केन्द्रमा राइनमाथि कुटपिट भएको र सोही कारण उनको मृत्यु भएको आरोप लगाएका छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
