आज्ञा खबर
प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दै छ। प्रतिनिधि सभामा विचाराधीन विवादित नागरिकता विधेयक फिर्ता लिन बैठका बस्न लागेको हो।
बैठक दिउँसो २ बजे सुरु हुने गरी बोलाइएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।
प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयकमा विवाद भएपछि सरकारले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागेको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ताको निर्णयको विरोध गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्।
यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगेमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यक्रममा उल्लेख गरिएको छ।