उमेर पुगेर विवाह गर्ने मुसहर दम्पतीलाई वर्दिबास नगरद्वारा ५१ हजार

[sharethis-inline-buttons]

माधव पौडेल
बर्दिबास, महोत्तरी

बालविवाह न्यूनीकरण र उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले वर्दिबास नगरपालिकाले मुसहर समुदायका एक दम्पतीलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रमअनुसार नगरभित्रका मुसहर, चमार तथा डोम समुदायका छोरीहरूले २० वर्षको उमेर पूरा भएपछि विवाह गरेमा प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ ।

यस कार्यक्रमअन्तर्गत वर्दिबास नगरपालिका–१२ विजलपुराकी २४ वर्षीया करिश्मा कुमारी सदा मुसहर र गौशाला नगरपालिका–७ निवासी २४ वर्षीय जयकुमार सदा मुसहर सम्मानित भएका हुन्।  करिश्माका बुबा भोला सदा मुसहर र आमा बबुआवती सदाले छोरीलाई कानुनी उमेर पुगेपछि मात्र विवाह गराएका हुन् ।

सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने परिवारका करिश्माले उच्च माध्यमिक तहसम्म अध्ययन गरेकी छन्। उनका परिवारका अनुसार पुरस्कार प्राप्त गर्ने उद्देश्यभन्दा पनि छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउने सोचका साथ उमेर पुगेपछि मात्रै विवाह गराइएको हो। विवाहपछि पनि आफ्नो भविष्य र करिअरलाई कसरी अघि बढाउने भन्ने विषयमा उनी सचेत रहेको परिवारको भनाइ छ ।

नगरप्रमुख प्रह्लाद क्षेत्रीका अनुसार वर्दिबासलाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनले उमेर पुगेपछि मात्र विवाह गर्ने परम्पराको विकास भएमा छोरीहरूको शिक्षा, स्वास्थ्य तथा समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...