काठमाण्डौँँ-
फर्स्टलुक पोस्टर, टिजर र ट्रेलरबाट ठूलो हाइप बनाएको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । समाजभित्रको गम्भीर विषयलाई सुक्ष्म रुपमा उठाउँदै आएका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो फिल्मप्रति दर्शक र फिल्मकर्मीमा उच्च अपेक्षा छ । ट्रेलर हेर्दा ‘पशुपति प्रसाद’ र ‘आमा’पछि उनको अर्को उत्कृष्ट फिल्म बनेको संकेत गर्छ ।
प्रायः निर्माता-निर्देशकहरु रिलिजको एक-दुई दिन अगाडि फिल्मको सेन्सर गर्न दौडधुप गर्छन् । तर, निर्देशक खनालले रिलिजको दुई साता अगाडि नै ‘चिसो मान्छे’को सेन्सर गरेका छन् । सोमवार फिल्मको सेन्सर भएको हो । २ घन्टा लम्बाईको फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल प्रमाणपत्र पाएको छ । यो सर्टिफिकेट पाएको फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउँछन् ।
फिल्म हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । उनीहरुले अर्को बर्ष राष्ट्रिय पुरस्कार पाउने फिल्म बनेको प्रतिक्रिया दिएको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको उनले बताइन् । फिल्मले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनेको छ ।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा, पटकथा, संवाद तथा छायांकन खनाल स्वयंको हो । फिल्मको सम्पादन दीर्घ खड्काले गरेका हुन् ।