आज्ञा खबर
वीरगञ्ज
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयका अनुसार भदौका लागि तोकिएको मासिक राजस्व लक्ष्यको ९९.७५ प्रतिशत रकम संकलन भएको हो। कार्यालयलाई भदौ महिनाका लागि निर्धारित लक्ष्यको करिब सम्पूर्ण हिस्सा संकलन गर्न सफलता मिलेको जनाएको छ।
भदौसम्मको राजस्व संकलनलाई आधार मान्दा चालु आर्थिक वर्षका लागि निर्धारित वार्षिक लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तथा प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार मूल्य र राजस्व योगदानका हिसाबले बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तुका रूपमा रहेका छन्।
वीरगञ्ज नाकाबाट हुने आयातसँगै यी वस्तुबाट भन्सार राजस्वमा उल्लेख्य योगदान पुग्दै आएको कार्यालयले जनाएको छ।
