भूस्खलनका कारण बीपी राजमार्ग अवरुद्ध

आज्ञा खबर

काभ्रेपलाञ्चोक

लगातारको वर्षाका कारण आएको भूस्खलनले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार बिहान करिब ४ः३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी गाउँपालिका–८ को गिम्दी क्षेत्रमा भूस्खलन भएपछि सडक अवरुद्ध भएको हो । भूस्खलनका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विभागले भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । वर्षा र भूस्खलनको अवस्था हेरेर दिनको समयमा समेत राजमार्ग बन्द गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयको बैठकले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रशासनले यात्रुलाई मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...