निकेश खनाल
महोत्तरी
महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसलाई जिल्लाको पर्यटन प्रवर्द्धन र पर्यटन बजारलाई पुनः चलायमान बनाउने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन्। पर्यटन क्षेत्रको सम्भावना उजागर गर्न होटलमा छुटदेखि पर्यटन पत्रकारिता सम्मान, सरसफाइ अभियान र सरोकारवालाबीच अन्तरक्रियासम्मका कार्यक्रम सञ्चालन गरिने भएको छ।
‘पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता (एआई)’ भन्ने मूल नाराका साथ मनाउन लागिएको विश्व पर्यटन दिवस–२०२६ का अवसरमा होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीले असोज १० देखि १७ गतेसम्म विभिन्न प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाएको छ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल मधेस प्रदेश र नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा) मधेस प्रदेशसँगको सहकार्यमा आयोजना हुने कार्यक्रमले जिल्लामा रहेका पर्यटकीय सम्भावनालाई प्रचारमा ल्याउने तथा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीका पर्यटकीय होटलमा बस्ने पाहुनाका लागि विशेष छुटको व्यवस्था गरिएको छ। असोज १० देखि १७ गतेसम्म होटलमा रात बिताउने पाहुनाले आवासमा २५ प्रतिशत र खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। होटल व्यवसायमा छुटको व्यवस्था गरेर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिएको सङ्घले जनाएको छ।
पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकालाई समेत प्राथमिकता दिँदै पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका दुई जना पत्रकारलाई ‘पर्यटन पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको सिफारिसमा पत्रकारलाई सम्मान गरिने सङ्घले जनाएको छ।
महोत्तरीको पर्यटन क्षेत्रका सम्भावना, समस्या र चुनौतीबारे सरोकारवालाबीच छलफल गर्न बर्दीबास र जलेश्वरमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। स्थानीय तह, पर्यटन क्षेत्रका प्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको सहभागितामा हुने छलफलबाट जिल्लाको पर्यटन विकासका सम्भावित उपायबारे बहस गरिने बताइएको छ।
पर्यटनस्थलको प्रचारप्रसारलाई डिजिटल माध्यमसँग जोड्ने तयारी पनि गरिएको छ। पर्यटकीय स्थलको प्रचार, पर्यटकलाई स्वागत तथा विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न निमन्त्रणा दिने भिडियो सामग्री निर्माण तथा प्रसारण गरिनेछ। अतिथि सत्कारको अनुभव र पर्यटकको प्रतिक्रियासमेत सङ्कलन गरिने सङ्घले जनाएको छ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय स्थल मात्र नभई गन्तव्य आसपासको वातावरण पनि महत्वपूर्ण हुने भएकाले जलेश्वर र बर्दीबासका मुख्य चोक तथा बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिने भएको छ।
महोत्तरीमा धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यहरू छन्। टुटेश्वरनाथ, जलेश्वरनाथ, मटिहानी, प्राचीन ढुङ्गे हतियार कारखाना, रौजा मजार, पडौल थान र पञ्चधुरा माईलगायतका स्थलले जिल्लाको पर्यटन सम्भावनालाई विविध बनाएका छन्। तर पर्याप्त प्रचारप्रसार, पूर्वाधार र व्यवस्थित पर्यटन बजारको अभावमा ती गन्तव्यले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न नसकेको व्यवसायीहरूको भनाइ छ।
यही अवस्थालाई ध्यानमा राख्दै विश्व पर्यटन दिवसका कार्यक्रमलाई औपचारिक उत्सवमा सीमित नगरी महोत्तरीको पर्यटनलाई नयाँ ढङ्गबाट अघि बढाउने अभियानका रूपमा अघि सार्न खोजिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताएका छन्।
उनका अनुसार जिल्लामा धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका प्रशस्त सम्भावना रहे पनि त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म प्रभावकारी रूपमा पुर्याउन अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ। पर्यटकीय गन्तव्यको प्रचारसँगै होटल तथा पर्यटन व्यवसायमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सरोकारवालाबीच सहकार्य बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
विश्व पर्यटन दिवसका अवसरमा सञ्चालन हुने यी कार्यक्रमले महोत्तरीका पर्यटकीय गन्तव्यप्रति नयाँ चासो सिर्जना गर्नुका साथै स्थानीय होटल तथा पर्यटन व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रमा स्थानीय सरकार, व्यवसायी, सञ्चारकर्मी र समुदायबीच सहकार्य बढाउन सके जिल्लाको पर्यटन बजारलाई थप गतिशील बनाउन सकिने व्यवसायीहरूको विश्वास छ।
सङ्घले महोत्तरीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी पर्यटनसम्बन्धी गतिविधिलाई व्यापक रूपमा प्रचारप्रसारमा सहयोग गरीदिन सबैमा आग्रह गरेको छ।
