आइतबारको प्रतिनिधिसभाको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने

[sharethis-inline-buttons]

आज्ञा सम्बाददाता
काठमाडौँ

प्रतिनिधिसभाको आइतबारको बैठकले प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन गर्ने भएको छ । समिति ११ सदस्यीय हुनेछ । बानेश्वरमा आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन् ।

‘दलहरुसँग नाम लिने र दलहरुको सिफारिसबाट आएको नाम समितिमा राख्ने । यो समितिले छुट्टै कार्यविधि बनाउने छ । त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ,’ संसद् सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । सिफारिस समितिमा रहने सदस्यहरुको नाम एमालेबाहेकका दलहरुले दिइसकेका छन् ।

समितिका एक सदस्यका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले नाम उपलब्ध गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले पनि नाम दिने बताएको छ । नेकपा (एस)बाट विकास तथा प्रविधि समतिकी सभापति कल्याणी खड्काको नाम उपलब्ध गराएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए । त्यस्तै, माओवादीबाट रेखा शर्मा र अर्का एक जना रहेका छन् ।

‘एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सभामुख र सचिवालयका अधिकारीलाई फोन गरेर आफ्नो दलले पनि नाम दिने भएकाले केही समय पर्खिन आग्रह गरेका छन् । सम्भवत: आजै महाभियोग सिफारिस समिति गठन हुनेछ,’ एक अधिकारीले भने ।