आज्ञा सम्वाददाता
खोटाङ
गोरु काटेको अभियोगमा खोटाङबाट पक्राउ परेका चार जना जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।
गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय खगेन्द्र तामाङ,३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा जिल्ला अदालतको आदेशमा मंगलबार जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् । अभियुक्तहरुको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासुबिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहने गरी २६ माघमा हिरासतमुक्त भएका थिए ।